सिन्धुली, –दुधौली नगरपालिका–११ पत्रिङगा निवासी ७२ वर्षीय शुक्र सदा मुसहरको दैनिकी दुई बर्षदेखि पक्कि घरमा बित्दै आएको छ । आफ्नो जीवनको ७० बर्ष फुसले छाएको छाप्रो (झुपडी) बिताउनु भएका बृद्ध मुसहरलाई अहिले घाम, पानी र चिसोको कुनै पीडा छैन ।
जाडो मौसम सुरु भएपछि परिवारका सबै जना रातभरि आगो बालेर वरिपरी बसेर रात गुजारेको बिगतलाई स्मरण गर्दै उहाँले भन्नुभयो, “झुपडीमा बस्दा हुरी बतास, आगलागी र सर्पको त्रास खेप्दै आएको थियौं । अब यो समस्याबाट मुक्ति पाएका छौं । दुइ वटा ढोका, झ्याल उत्तिक्कै र जस्ताले छाएको पक्कि दुई कोठे घर भएपनि मरो लागि महल नै हो । झुपडीबाट महलको जीवन पाएका छौं ।” छाप्रोमा बसेर गुजरा चलि रहेकोमा अहिले परिवार नै चिटिक्क परेको पक्कि घरमा रमाई रहेको उहाँले सुनाउनुभयो ।
उहाँका तीन छोरीहरु त्यही छाप्रो घरबाट विहावारी भएर गए । श्रीमती काली मुसरस“ग अहिले उहाँको बा“की जीवन गुज्री रहेको छ । “अब त छोरी, ज्वाइ र नाती नातीनाहरु आउ“दा पनि पक्की घरमा बस्न पाएका छन्,” छेउमै बस्नु भएकी काली मुसहरले लय मिलाउदै थप्नुभयो, “दुई बर्षको चाडहरु स्वर्गमा नै बसेर मनाईयो ।”
दुधौली नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ९, १० र ११ मा जनता आवास कार्यक्रम अन्तर्गत ३५५ वटा पक्कि घर निर्माण गरी दुई बर्षअघि मुसहर परिबारलाई हस्तान्तरण गरिएपनि सधै अभावको जीवन गुजार्दै आएका मुसहर समुदायले यो अबसर पाएका हुन् । बर्षौदेखि फुसको झुपडीमा बसेर गुजरा चलाउदै आएका मुसहर समुदायहरु एकिकृत नमूना बस्ती निर्माण भई पक्कि घर पाएपछि बालबच्चा, दिर्घरोगी र बृद्धबृद्धाहरु चिसो र सित लहरबाट सुरक्षित भएका स्थानीयले जनाएका छन् ।
दुधौली नगरपालिका–९ खिरियानी निवासी ४२ बर्षिय सुघिया सदाले भन्नुभयो, “दुई कोठे पक्कि घर पाएपछि ढुक्कसँग बस्न पाईएको छ । नत्र सँधै हिउदमा चिसो र सितलहरीको समस्या हुन्थ्यो । अहिले त्यस्तो महसुस गर्नु परेन ।” उहाँका अनुसार मुसहर समुदाय बस्ने घर परैबाट चिनिन्थ्यो । बाँसको टाटीले बेरेको र थाकलले छाएको छाप्रो घर बनाएर मुसहर समुदाय बर्षौदेखि गुजरा चलाउदै आएका थिए । गर्मी मौसममा सँधै हुरीबतास, आगलागी र सर्पको त्रास हुन्थ्यो ।
गरिबीका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउनु पर्ने बाध्यताले सुरक्षित घर बनाउन सकि रहेका थिएनन् । “पहिले बाँसको भाटाले बेरेको झाप्रोमा खर, परालको छानो मुनी बस्थ्यौं । विस्तारै खर, पराल पनि महँगो हुँदै गएपछि जंलबाट ल्याएर थाकलको छानो हाल्न थालेका थियौँ,’ उहाँले भन्नुभयो, ‘त्यो झुप्रोमा विच्छि, खजुरो र सर्पले डस्थ्यो ।”
स्थानीयका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयले दुधौली नगरपालिकामा एकिकृत बस्ति निर्माण गरि रहेको छ । उक्त कार्यालयले जनता आवास कार्यक्रम अन्तर्गत ४२७ वटा घर निर्माण गरेको जनाएको छ । कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेका अनुसार दुई कोठाको प्रत्येक घरमा दुइवटा ढोका र दुइवटा झ्याल रहेका छन् । उहाँले भन्नुभयो, ‘एउटा घर निर्माणका लागि सङघिय सरकारबाट तीन लाख ३६ हजार रुपिया आँउछ । त्यसले पुगेन भने सम्बन्धित लाभग्राहीले श्रमदान गर्नु पर्ने हुन्छ ।’
कार्यालय प्रमुख घिमिरेका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत प्राथमिकतामा परेका डुम, दलित, लोपोन्मुख, सिमान्तकृत र अति विपन्न वर्गका समुदायका छनौंट भएका दुधौली नगरपालिकामा ५७३ र तीनपाटन गाँउपालिकामा ६३० जना लाभग्राही छनौट भएका छन् । तीनपाटन गाँउपालिकामा भने घर निर्माण गर्न बाँकी रहेको छ ।