बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

बल्झिएको कोरोनासँग अल्झिएको सिन्धुली

बिहिवार , माघ ६, २०७८

पछिल्लो एक साता यता सिन्धुलीमा कोरोना संक्रमितको संख्या झण्डै एक सय नाघिसकेको छ । दैनिकजसो दुई अंकको संख्यामा कोरोना संक्रमित थपिरएका छन् । परिक्षणको दायरा बढाउने हो भने दैनिक तीन अंकिय संख्यामा संक्रमित नथपिएलान् भन्न सकिन्न । कोरोना रोकथाम र नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयले विभिन्न बुँदा समेटेर आदेश दिइसकेको छ । प्रशासनले अघिल्लो पटक कोरोना संक्रमण बढिरहदा पनि आदेश नदिएको होइन ।

तर, आदेश कार्यान्वयनमा जटिलता हुँदा संक्रमितको संख्या बढिनै रह्यो । तसर्थ, तेश्रो भेरियन्टको कोरोना देखिरहदा प्रशासनको आदेश कार्यान्वयनलाई जिम्मेवार निकायले मुख्य प्राथमिकतामा राख्न जरुरी छ । तेश्रो भेरियन्टको कोरोनाले विश्वनै आतंकित बनेको अवस्था छ । नेपालमा दैनिक १० औँ हजारको संख्यामा संक्रमित थपिदैँ छन् । नेपाल सरकारले जिल्ला जिल्लामा खटाएका प्रतिनिधिले आफ्नो कर्तव्यलाई गम्भिरताका साथ पालना गर्ने हो भने कोरोना रोकथाम र नियन्त्रणमा सहज हुनेछ । तसर्थ, जिल्ला प्रशासनले सिन्धुलीमा कोरोना फैलिन सक्ने आधारहरुलाई विश्लेषण गर्दै ‘दिन दुइ गुणा रात चौँ गुणा’ बनाई कोरोनाको रोकथाम र नियन्त्रणमा जोड दिन आवश्यक छ ।

बागमती प्रदेश सरकारमा सिन्धुलीकै जनप्रतिनिधि स्वास्थ्यमन्त्रीमा चुनिदा समेत कोभिड अस्पताल बन्द हुनु दुर्भाग्य हो । तर, करोडौँ लगानीमा निर्माण भएको कोभिड अस्पताल बजेट र स्वास्थ्यकर्मीको अभावका कारण केहि समय बन्द भएपनि पुनः संचालनमा आएको छ । अब भने कोभिड अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मि तैनाथमा जिल्लाका जनप्रतिनिधि लगायत सरोकारवाला निकायले चासो देखाउन जरुरी छ । त्यसैगरि, नेपाल–भारतको सिमाना नजिक रहेकाले पनि सिन्धुलीमा जोखिम बढिनै छ । विपी राजमार्गका कारण पनि केहि हदसम्म कोरोनाको जोखिम बढ्दो छ ।

तसर्थ, यी सबै पक्षलाई मध्यनजर गर्दै कोरोनाको रोकथाम र नियन्त्रणमा जिम्मेवार पक्ष गम्भिर हुनुको विकल्प छैन । यतिमात्र नभएर, जिल्ला अस्पतालको व्यवस्थापन समितिले पनि मुश्किलको घडिमा महत्वपुर्ण भुमिका निभाउन जरुरी छ । कोरोनाको परिक्षणकालागि जिल्लावासीसँग आग्रह गर्दै प्रचारप्रसारमा व्यापकता दिन सम्बन्धित पक्ष अग्रसर हुन आवश्यक छ । अतः बल्झिएको कोरोनासँग अल्झिएर बस्ने भन्दा पनि एकजुट भएर कसरी अघि बढ्ने तर्फ सम्बन्धित सबै पक्षले गम्भिरताका साथ सोच्न आवश्यक छ ।

प्रतिक्रिया