शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी आइसोलेसनमा, सेवा प्रवाहमा सकस

बुधवार , माघ ५, २०७८

सिन्धुली – सिन्धुली अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसकारण अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । पछिल्लो पटक संक्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

अस्पतालमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सेवा प्रवाहमा समस्या हुन थालेको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उमेश प्रधानले बताउनुभयो । अस्पतालमा कार्यरत दुइ विशेषज्ञ चिकित्सक, ५ जना स्टाप नर्स, ३ जना कास र एक सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । “अस्पतालका विशेषज्ञ चिकित्सक, नर्स, कास, सवारीचालकलाई लक्षणसहितको समस्या देखिएसँगै गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ”, मेसु प्रधानले भन्नुभयो “जाँच गराउन आउने बिरामीको दर बढिरहेको समयमा स्वास्थ्यकर्मी आफँै संक्रमित भएकाले सेवा दिन कठिनाइ भएको छ ।”

संक्रमण पुष्टि भएका कर्मचारी होम आइसोलेसनमा उपचारत रहेका छन् । अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत पाँच जना स्टाप नर्स, अप्रेशनमा कार्यरत एक विशेषज्ञ चिकित्सक र एक जना गाइनोकोलोसमा कोरोना संक्रमण भएपछि सेवा प्रभावित भएको छ । हाल अस्पतालको इमजेन्सि बाहेका सबै अप्रेशन बन्द भएको छ । अस्पताको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा हाल ५ जना कर्मचारी मात्र कार्यरत छन् । संघको निर्देशन अनुसार कोभिडमा बेतलबी विदामा राखिएका लगभग १० जना कर्मचारीलाई बोलाएको मेसु प्रधानले बताउनुभयो ।

“बेतलबी विदामा बसेका १० जना कर्मचारीलाई बोलाई हामीले कोभिड अस्पताल संचालनमा ल्याइ सकेका छौँ । यहि गतिमा संक्रमित बढ्दै जाने हो भने थप कर्मचारीलाई पनि बोलानु पर्छ । बाकीँ रहेको सम्पूर्ण स्टापलाई बोलाई अस्पतालको सम्पूर्ण सेवा सुचारु गर्ने योजना बनाएका छौँ ,” उहाँले भन्नुभयो । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सम्पूर्ण नागरिकलाई भिडभाड नगरि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुहुन मेसु प्रधानले आग्रह गर्नुभयो । साथै उहाँले भिडभाड बढेको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको कारण संक्रमित बढेको बताउनुभयो ।

यस्तै, मानिसको भीडभाड बढेको र स्वास्थ्य मापदण्डको पालना नहँुदा संक्रमणदर बढेसँगै सामान्य प्रकृतिका बिरामी तथा केही समयपछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई अहिले अस्पतालमा नआउन मेसु प्रधानल ले आग्रह गर्नुभयो । उहाँले स्वास फेर्न गाहरो भएमा मात्र अस्पताल आउन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया