शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

गोलन्जोर वडानं.२ को सम्पूर्ण खर्च सार्वजनिक गर्न को माग

मंगलवार , माघ ४, २०७८

सिन्धुली – नेकपा (माओवादी केन्द्र) गोलन्जोर गाउँपालिका २ संगठन कमिटीले वडाको हालसम्मकै सम्पूर्ण विकास निर्माण शिर्षकको खर्च सार्वजनिक सुनुवाई गर्न माग गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती निकाल्दै वडामा भ्रष्टाचार भएको भन्दै सम्पूर्ण निर्माण शिर्षकको खर्च सार्वजनिक सुनुवाइ गरि स्वतन्त्र छानविन गर्न माग गरेको हो ।

“गोलन्जोर गाउँपालिका वडा नं. २ का निर्वाचित वडा अध्यक्ष र ने.क.पा. एमाले वडा नं. २ का संगठन कमिटी अध्यक्ष विच सामाजिक सञ्जाल (फेसबुक) मा भएको विगत केहि दिन देखि हाल सम्म भएका योजना शिर्षक र सो शिर्षक मार्फत आएको विकास रकम बाडफाड वारे नांगो कुराकानी प्रति हाम्रो पार्टी ने.क.पा, माओवादी केन्द्र २ नं. वडा कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ ,” पत्रमा भनिएको छ ।

पदिय हैसियत नै ख्याल नगरी भएको जुहारी र प्रत्येक विकाश शिर्षकमा कमजोरी गरी भ्रष्टाचार नै गरेको एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाएको देखिएकाले वडामा मार्फत भएका सम्पूर्ण विकास निर्माणको खर्च सार्वजनिक गर्न माग गरिएको छ ।

“वडा मार्फत भएको हालसम्मकै सम्पूर्ण विकाश निर्माण शिर्षकको खर्च सार्वजनिक सुनुवाई गरि स्वतन्त्र छानविन मार्फत दोषि उपर कावाही गरि जनताको सुचना प्राप्त गर्ने हकको रक्षा गराई पाउँ भनि गोलन्जोर गाउँपालिका, जिल्ला प्रशाशन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संबद्ध सबै पक्ष समक्ष हाम्रो पार्टी ने.क.पा. माओवादी केन्द्र वडा नं. २ वितिजोर जोडदार माग गर्दछ ,” पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया