सिन्धुली, – सिन्धुली जिल्लामा सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थीको चाप बढ्दै गएको छ ।
सामुदायिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई नेपाल सरकारले दिवा खाजाको बन्दोबस्त गरेसँगै विद्यार्थीको संख्या बढ्न थालेको सम्बन्धित विद्यालयले जनाएका छन् । कमलामाई नगरपालिका–५ फोस्रेटारस्थित जनज्योती माविमा दिवा खाजाकै प्रभावले अहिले १५० जना भन्दा बढी विद्यार्थी बढेका छन् ।
विद्यालयका प्रधानाध्यापक भिमबिक्रम थापा भन्नुहुन्छ, “दिवा खाजाको व्यवस्था हुनु अघि शिशु कक्षादेखि पाँच कक्षासम्म २९० जनाको हाराहारीमा विद्यार्थी हुन्थे, अहिले बढेर विद्यार्थी सङख्या ४५० नाघेको छ । यो सबै दिवा खाजाको प्रभाव हो ।” उहाँका अनुसार अहिले पनि दैनिक जसो दुई\तीन जना बालबालिका अभिभावकले ल्याउने गरेका छन् । बीचमा भर्ना गर्दा प्राविधिक समस्या पर्ने भएकाले उनीहरुलाई शैक्षिक सत्र सुरु भएपछि बैशाखमा लिएर आउनु भन्दै फर्काउने गरेको प्रधानाध्यापक थापाको भनाई छ ।
शिशु कक्षादेखि कक्षा १२ सम्म अहिले एक हजार छ सयको हाराहारीमा विद्यार्थी रहेको उहाँले जानकारी दिनुभयो । हरेक दिन विद्यार्थीलाई फरक–फरक खाजा दिने गरिएको छ । दिन फरक पारी खिर, तरकारी चिउरा, जाउलो र शुक्रबार अण्डा खाजा दिने गरेको विद्यालयले जनाएको छ ।
त्यसो त दुई नगरपालिका सहित नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा ५६३ वटा सामुदायिक विद्यालय रहेका र शिशु कक्षादेखि प्राथमिक तहमा अध्ययनरत विद्यार्थीको संया ४३ हजार २२१ रहेको शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीले जनाएको छ । उक्त इकाईका सूचना अधिकारी दुर्गाप्रसाद काफ्ले दिवा खाजाको प्रभाव राम्रो परेको बताउनुहुन्छ ।
कुनै विद्यालयले आफै खाजा बनाएर विद्यार्थीलाई दिने गरेको र कुनै विद्यालयले खाजाको पैसा अभिभावकलाई दिने गरेको पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमै खाजा दिन थालेपछि विद्यार्थी संया बढ्न थालेको पाईएको छ ।”
एक जना विद्यार्थीलाई दैनिक खाजा खुवाउन १५ रुपैयाका दरले खाजाको पैसा आउछ । “१३ रुपैया भए खाजा पुग्ने रहेछ । बाँकी रहेको पैसाबाट पाँच हजार रुपैयामा एक जना भान्से राखेका छौं,” जनज्योती माविकै प्रअ थापाले सुनाउनुभयो । विद्यालयमा बालबालिकाको उपस्थितिमा उल्लेख्य वृद्धि ल्याउने र विद्यालय बाहिरका रहेकालाई समेट्ने उद्देश्यका साथ बन्दोबस्त गरिएको दिवा खाजाले सकारात्मक प्रभाव परेको शिक्षकहरुको अनुभव पाईन्छ ।
दिवा खाजाकै प्रभावका कारण बालबालिकामा विद्यालय कम आउने र आएकाहरु पनि विद्यालय समय पूरा नबस्ने समस्या हटेको छ । सोही विद्यालयकै शिक्षिका करुणा घिमिरेका अनुसार अहिले समयमा नआउने, विद्यालय छोड्ने, र समयसम्म नबस्ने विद्यार्थीको बानी सप्रिएको छ । उहाँले भन्नुभयो, “पहिला भर्ना भएका विद्यार्थी पनि नियमित विद्यालय आउदैन थिए । अहिले त विद्यालय आउने बित्तिकै आजको खाजा के छ ? भनेर सोध्छन् । दिवा खाजाले प्रभावले गर्दा शतप्रतिशत आउने र समयसम्म बस्ने गरेका छन् ।”