बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

वैकल्पिक शैक्षिक विधि अपनाऔँ

आइतवार , माघ २, २०७८

सिन्धुली लगायत देशभर कोरोना संक्रमणको दर बढ्न थालेपछि शैक्षिक संस्था बन्द गरिएको छ । भौतिक उपस्थितिमा पढाई नभएपनि अनलाईनको माध्यमबाट केहि शैक्षिक संस्थाले पढाई शुरु गरेका छन् । विगतमा भएको लकडाउनमा शैक्षिक संस्थाहरुले डिजिटल माध्यमबाट शिक्षा प्रदान गरेका थिए । तर, उक्त शिक्षण विधि प्रभावकारी नभएको अभिभावकले गुनासो गर्दैआएका छन् । कोरोनाको जोखिम केहि हदसम्म कम भएपछि शैक्षिक संस्थापनि संचालनमा आएको थियो । तर, उक्त समयमा शैक्षिक संस्था देखि जिल्ला शिक्षा समन्वय कार्यालयले समेत वैकल्पिक शैक्षिक विधिका बारेमा गृहकार्य गरेन । जसका कारण अहिले फेरि पनि कोरोनाले शैक्षिक संस्थालाई डामाडोल बनाएको छ ।

देशका अन्य जिल्लाहरुमा वैकल्पिक शिक्षाको नाममा अफलाईनको माध्यमबाट पढाई शुरु गरिएको छ । त्यस्तै, कसरी पढाई हुने र कसरी मोबाइल चलाउने समेत अभिभावकलाई प्रशिक्षण दिइएको छ । तर, दुर्भाग्य नै भन्नुपर्छ जिल्लाका अभिभावकहरु न त साक्षर छन् न त राज्यको ध्याननै उनीहरुलाई सक्षम बनाउन तर्फ केन्द्रित भएको छ । तसर्थ, जिल्लामा स्थानिय तह देखि प्रदेश सरकार र केन्द्रिय सरकारले प्रविधिमैत्रि ल्याब निर्माणकालागि खर्च गरेको ठूलो लगानीको प्रभावकारीता र तीनको सदुुपयोगका बारेमा गम्भिर भएर छलफल गर्न आवश्यक छ । त्यसैगरि, जिल्लाका अभिभावकलाई कसरी बालबालिकालाई सहजिकरण गर्ने भन्ने तर्फ पनि सम्बन्धित निकायले चासो देखाउन जरुरी छ । अतः जिल्लाको शिक्षा डामाडोल बनेको अवस्थामा कसरी सिकाईमा आमुल परिवर्तन ल्याउन सकिन्छ भनेर सरोकारवाला निकाय थप सक्रिय हुन आवश्यक छ ।

प्रतिक्रिया