सिन्धुली- काली,कमलामाई मन्दिरमा माघे सङ्क्रान्तिको अवसरमा पुजा गर्नेको भिड लागेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपनि मन्दिरमा पुर्जा गर्ने, बलि दिने र स्नान गर्नेको घुइँचो लागेको थियो । विहान नै देखि मन्दिरमा भक्तजनको घुइँचो लागेको स्थानियबासीले बताएका छन् । मन्दिरमा भक्तजनको भिड बढेपछि मन्दिर बन्द गरिएको थियो । मन्दिर बन्द भएपनि बाहिरबाट दर्शन गर्ने र पुजा गर्ने मानिसको भिड थियो । मन्दिर नजिकको गौमतीखोला र माईखोलाको दोभान किनारमा ५ सय भन्दा बढीको संख्यामा स्नान गर्ने र बलि दिनेको भिड थियो ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले भिड नियन्त्रण गर्ने प्रयास गरिरहेका थिए भने मन्दिरमा आउने सवारी साधनको व्यवस्थापन ट्राफिक प्रहरीले गरिरहेका थिए । भिड नियन्त्रण गर्न प्रहरी टोलि खटाइएपनि नियन्त्रण गर्नभने सकिएको थिएन । भिड नियन्त्रण गर्न मन्दिर बन्द गरेपनि नियन्त्रण हुन नसकेको मन्दिरमा खटिएका एक प्रहरीले बताए ।
जिल्ला सदरमुकामबाट वहने गौमति खोला र कमला खोलाको संगम स्थल कमलामाई नगरपालिका ८ माइस्थान मन्दिर अवस्थित छ । यस मन्दिरसम्म पुग्न पूर्व पश्चिम राजमार्गको महोत्तरी जिल्ला अन्तर्गत वर्दिबासबाट विपि राजमार्गको ३० कि.मि.को दुरी तय गर्नु पर्दछ । यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहाँसिक तथा धार्मिक प्रतिष्ठाको कारण यस मन्दिरमा आउने भक्तजनहरुको ठूलो घुँइचो हुन्छ ।