सिन्धुली –सिन्धुलीमा २५ जना भन्दा बढी भेला हुने कुनै पनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आदेश जारी गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति सिन्धुलीले बुधबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन नदिन जिल्ला भित्र २५ जना भन्दा बढी भेला हुने कुनै किसिमको गतिविधि नगर्न आदेश दिएको हो ।
जिल्ला भित्र भौतिक रुपमा २५ जना भन्दा बढी उपस्थित हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, खेल, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सवहरु आयोजना नगर्न\नगराउन, अत्यावश्यक नगरी नहुने नियमित कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र गर्ने, सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था तथा सहकारीहरुले भिडभाड नहुने सुनिश्चितता गरी भौतिक दूरी कायम एवं जनस्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गरी÷गराई सेवा प्रवाहको व्यवस्था मिलाउन प्रशासनले एक सुचना निकाले आग्रह गरेको छ ।
यस्तै सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा वार्षिक विदामा मिलान हुने गरी मिति २०७८ माघ १५ गते सम्म विदा दिने तथा सबै शैक्षिक संस्थाहरुले पूर्वनिर्धारित परीक्षाहरु भौतिक दूरी लगायत जनस्वास्थ्यका मापदण्डहरु पालना गरी सञ्चालन गरिन, होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरुले दैनिक रुपमा निसंक्रमित गर्ने व्यवस्था मिलाउने र कामदार तथा कर्मचारीहरुलाई मास्क, फेससिल्ड लगायतका साधनको प्रयोग सुनिश्चित गर्ने साथै उद्योग कलकारखाना तथा व्यापार व्यवसाय संचालन गर्दा भिडभाड नहुने व्यवस्था मिलाई स्वास्थ्य मापदण्ड अनुरुप कार्य संचालन गर्न, आवश्यक काम परी घरबाहिर निस्कनु पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गन, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने/ नगराउने । सार्वजनिक यातायातहरुमा कुल स्वीकृत सीट क्षमता भन्दा बढी यात्रुहरु नराख्न, चालक, सहचालक तथा यात्रुहरुलाई मास्क अनिवार्य गर्ने र खोप लिएका व्यक्तिहरुलाई मात्र यात्राको सुनश्चितता गर्न आग्रह गरिएको छ ।
यस्तै मठ, मन्दिर, मस्जित, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा नित्य पूजा बाहेक अन्य धार्मिक क्रियाकलापहरु संचालन नगर्ने । जुनसुकै प्रकारका सामुहिक खेलकुदहरु बन्द गर्न र माग ७ गते देखि लागू हुनेगरी सार्वजनिक स्थानहरु, (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, पार्क आदि) मा प्रवेश गराउदा र सार्वजनिक सेवा प्रदान गर्दा सम्बन्धित निकायहरुले कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने साथै जनस्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गर्न निदेशन दिइएको छ ।
कोभिड–१९ संक्रमणको जिल्लामा पनि बढ्दै गइरहेको हुदा जिल्ला कोभिड व्यवस्थापन समिति सिन्धुलीले नयाँ कार्य आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । बैठकको निर्णय तथा गृह मन्त्रालयको गएको २६ गतेको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आज राती १२ बजे देखि अर्को सूचना जारी नभएसम्म सिन्धुली जिल्ला भर लागू हुनेगरी नया आदेश जारी गरिएको उहाँले बताउनुभयो ।
