सिन्धुलीका सरकारी विद्यालयमा विद्यार्थीले पुस्तक नपाएको गुनासो नयाँ होइन । हरेक वर्ष विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएको भन्दै विरोध गर्ने गर्छन् । तर, समस्या भने सधैँ ज्यूँको त्यूँनै रहेको छ । जिल्लाको बहुमुखि क्याम्पसमा अध्ययनरत स्नातक र स्नातकोत्तरका विद्यार्थीको नयाँ कक्षा संचालन भइसकेको महिनौँ बितिसक्दा पनि उनीहरुले किताब पाएका छन् । भर्नाको समयमा किताबको शूल्क समेत तिरेका विद्यार्थीलाई क्याम्पसले विभिन्न कारण देखाएर पुस्तक उपलब्ध गराएको छैन । बहुमुखि क्याम्पस त्यहि क्याम्पस हो जसको व्यवस्थापन समितिको अध्यक्षमा पुर्व कृषिमन्त्री एवं केन्द्रका प्रभावशालि नेता हरिबोल गजुरेल हुनुहुन्छ ।
संघीय सांसद, प्रभावशालि पार्टीको प्रभावशालि नेता अध्यक्ष रहेको क्याम्पसमा पुस्तक नपाएर विद्यार्थीले पढ्न नपाउनु दुखद हो । विद्यार्थीले पुस्तक नपाएको महिनौँ भइसकेपनि क्याम्पस प्रशासन र व्यवस्थापन समिति मौन देखिएको छ । केहि विद्यार्थी संगठनले आवाज उठाएपनि सो मागको सुनुवाई नहुने गरेको विगतको परिपाटिले देखाउँछ । तसर्थ, विद्यार्थीलाई पुस्तक उपलब्ध गराउनतर्फ क्याम्पसले यथाशिघ्र कदम चाल्न जरुरी छ ।
बहुमुखि क्याम्पसमा मात्र नभएर अन्य क्याम्पसमा समेत विद्यार्थीले पुस्तक नपाएको गुनासो छ । जिल्लाका शैक्षिक क्षेत्रमा देखिएको बेथिति र अनियमितताको भण्डाफोर गर्न सरोकारवाला निकाय थप सक्रिय हुन आवश्यक छ । अतः शैक्षिक क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।