माओवादी केन्द्रमा सिन्धुलीबाट दुईजना केन्द्रिय सदस्यमा चयन
सिन्धुली– नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट सिन्धुलीका दुईजना नेताहरु केन्द्रिय सदस्यमा चयन भएका छन् । महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेकोमा सिन्धुलीका हरिबोल गजुरेल र लेखनाथ दाहाल ‘राजन’ पनि समितिमा परेका छन् । दुवै निर्वाचित केन्द्रिय समिति जनप्रतिनिधि हुन् । गजुरेल संघिय सांसद हुनुहुन्छ भने राजन प्रदेश सभा सदस्य हुनुहुन्छ ।
कमलादीस्थित प्रज्ञा भवनमा आइतबार सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको नामलाई ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो । केन्द्रीय सदस्यको घोषणा गर्दै माओवादीको महाधिवेशन आइतबार सम्पन्न भएको हो । आइतबार घोषणा गरिएका १४५ खुल्ला केन्द्रीय सदस्यमध्ये १११ को विवरण प्राप्त भएको छ । त्यसमा बाँकी रहेका ३४ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ ।
यस्तै, विभिन्न जाती, क्षेत्र तथा समुदायका तर्फबाट अर्थात् समानुपातिक तर्फबाट १२५ को नाम घोषणा गरिएको छ । समानुपातिकतर्फ २९ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने विधानले व्यवस्था गरेको छ ।
खसआर्य पुरुषतर्फको केन्द्रीय सदस्यमा १४ जना निर्वाचित हुनुभएको छ । त्यस्तै, महिलातर्फ २५ महिला निर्वाचित हुनुभएको छ भने खसआर्य युवा महिलातर्फ छ जना निर्वाचित हुनुभएको छ । जनजातितर्फ ११ जना केन्द्रिय सदस्य निर्वाचित हुनुभएको छ भने चार जनजाति युवा केन्द्रिय सदस्य हुनुभएको छ । जनजाति महिलातर्फ २२ जना केन्द्रिय सदस्य निर्वाचित हुनुभएको छ ।
दलित महिलामा ११ जना केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । मधेसी क्लस्टरबाट तीन जना र मधेसी युवा एकजना र महिलातर्फ दुईजना निर्वाचित हुनुभएको छ ।
यता, महाधिवेशनको विधानअनुसार थारु समुदायबाट तीनजना निर्वाचित हुनुभएको छ । थारु युवाबाट दुईजना र महिलाबाट पाँचजना केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । पिछडिएको क्षेत्रबाट तीनजना केन्द्रीय सदस्यका रुपमा निर्वाचित हुनुभएको छ ।
सिन्धुलीमा पाँच जना कोरोना संक्रमणमुक्त
सिन्धुली– सिन्धुलीमा आइतबार पाँच जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार एकजना महिला र चार जना पुरुष गरि पाँच जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै जिल्लामा हालसम्म तीन हजार दुई सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा दुई जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।
यस्तै, जिल्लामा कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या तीन हजार दुई सय ६५ पुगेको छ भने ४५ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय सिन्धुलीले जनकारी दिएको छ ।
बहुमुखी क्याम्पसमा अनेरास्ववियुद्वारा ज्ञापन पत्र बुझाइयो
सिन्धुली– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु)ले सिन्धुली बहुमुखी क्याम्पसलाई ज्ञापन पत्र बुझाएको छ । क्याम्पस कमिटिले आइतबार विभिन्न १४ वटा माग राख्दै क्याम्पसमा ज्ञापन पत्र बुझाएको हो । शैक्षिक बर्ष २०७६÷७७ को छात्रवृत्तिको नतिजा तत्काल प्रकाशन गर्नुपर्ने र २०७७÷७८ ,२०७८÷७९ को प्रक्रिया अगाडि बढाउनु पर्ने, पुस्तकालयमा पर्याप्त पुस्तक र नेट उपलब्ध गराउनु पर्ने, कलेज पोसाक अनिवार्य गर्नुको साथै डिजिटल आइडी कार्डको ब्यबस्था गर्नु पर्ने माग राखिएको छ । साथै, कोभिड महामारीको कारण गतसालको कक्षा ११ का विद्यार्थीहरुलाई आदि मासिक शुल्क संचालक समितिमा छलफल गरि १२ मा छुट गराउने सर्त लागु गर्नुपर्ने माग राखिएको छ ।
यस्तै, स्नातकोत्तरको शुल्क घटाउनु पर्ने, घण्टी मिलाउनुका साथै नियमित पुर्ण कक्षा संचालन गर्नुपर्ने, तत्काल क्याम्पस बसको ब्यबस्था गर्नु पर्ने, छात्रालाई वितरण गर्ने सेनिटरी प्याड महिला शौचालयमानै उपलब्ध गराउनु पर्ने लगायतका १४ वटा माग राखिएको छ । आफ्ना जायज माग तत्काल पुरा नगरे कडा आन्दोलन गर्न बाध्य हुने समेत संगठनले चेतावनी दिएको अनेरास्ववियू सिन्धुली बहुमुखी क्याम्पस कमिटिका संयोजक लोकेन्द्र बोगटीले बताउनुभयो ।
फिक्कलमा आठ दिने तालिम सम्पन्न
सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिकामा गरिबी निवारणको लागि लघु उद्यम विकास सम्बन्धी आठ दिने तालिम सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेको अध्यक्षतामा तालिम सम्पन्न भएको हो । गरिबी निवारणकोलागि लघु उद्यम विकास तालिम फिक्कल गाउँपालिकाको ६ वटै वडामा सम्पन्न भएको हो ।
बेरोजगारी भएर बसेका लाई स्वारोजगारी बनाउने उदेश्यले गाँउपालिकामा आठ दिने तालिम आयोजना गरिएको गाउँपालिकाका सुचना अधिकृत दिनेश भण्डारीले बताउनुभयो । तालिममा गरिबी निवारणको लागि लघु उद्यम विकासका २० जना सदस्यहरुको उपस्थिती रहेको थियो ।
सिन्धुलीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड
सिन्धुली– सिन्धुलीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड लागेको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा मतदाता नामावली नाम दर्ता गर्नेको भिड लागेको हो । भिड बढेसँगै कार्यालयले नाम दर्ता गर्नकालागि एकजना कर्मचारी थपि सेवा प्रवाह गरिरहेको छ । दैनिक एक सय भन्दा बढी मतदाता नामावलीमा नाम दर्ता गर्न आउने गरेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका निमित्त प्रमुख गीताकुमारी दाहालले बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा नाम दर्ता गराउन छुट भएकाहरु कार्यालयमा आउने गरेका छन् । पहिलो चरणमा फिक्कल गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, सुनकोसी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा संचालित अभियानमा दुई हजार ८६ जनाको फोटोसहितको नामावली संकलन गरिएको छ ।
मंसिर १७ देखि पुस २ गतेसम्म संचालन गरिएको पहिलो चरणको मतदाता नामावली संकलन अभियानमा फिक्कल गाउँपालिकामा १३० महिला, १४१ पुरुष गरि जम्मा २७१ जना, हरिहरपुरगढीमा २२७ महिला, ३४८ पुरुष गरि जम्मा ५७५ जना, सुनकोशी गाउँपालिकामा २१९ महिला, २९३ पुरुष गरि जम्मा ५१२ जना, घ्याङलेख गाउँपालिकामा १३५ महिला, १३७ पुरुष गरि जम्मा ३०८ जना, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा १७८ महिला र २३० पुरुष गरि जम्मा ४०८ जना, जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा १७ महिला, ३१ पुरुष गरि जम्मा ८८ जनाको नामावली संकलन भएको छ ।
यस्तै, पुस ५ गतेबाट सुरु गरिएको दोश्रो चरणको मतदाता नामावली संकलन अभियान सोमबार (आज) सम्म संचालन हुने हुनेछ । जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाटै संकलन अभियान सुरु गरिएको हो । कुनै काम विशेषले आफ्नो स्थायी बसोबास भएको जिल्लाबाट अन्य जिल्लामा बसोबास गर्ने नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छुट भएको भए नाम दर्ता गर्नका लागि आज (सोमबार) सम्म जिल्ला निर्वाचन कार्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र सहित उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने निमित्त प्रमुख दाहालले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले आसन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने लक्ष्य अनुसार पहिलो चरणमा नामावली संकलन गरेको छ ।
अटो दुर्घटना हुदाँ तीन जना घाइते
सिन्धुली– सिन्धुलीमा अटो दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । आइतबार सिन्धुलगढीबाट फर्किदै गरेको अटो कमलामाई नगरपालिका २ चियाबारीबाट ३ किलोमिटर माथि आफैँ अनियन्त्रित भई दुर्घटना हुदाँ तीन जना घाइते भएका हुन् । घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । ज १ घ ४८६५ नम्बरको अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।