सिन्धुली,१८ पुस– सिन्धुली जिल्लामा पछिल्लो समयमा चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ । अत्याधिक चिसो बढ्दा बृद्धबृद्धा, बालबालिका तथा सुत्केरी महिला बिरामी पर्न थालेको स्थानीयले जनाएका छन् । चिसो बढेसँगै उपचारका लागि आउने बिरामीको संख्या पनि बढेको सिन्धुली अस्पतालले जनाएको छ ।
अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार केही दिन अघिसम्म उपचारका लागि दैनिक सरदर एक सयदेखि १५० जना बिरामी आउने गरेकोको अहिले २५० जना माथि पुगेको छ । रुघाखोकी, हाडजोर्नी, बाथ, हातखुट्टा दुख्ने जस्ता समस्या भएका बिरामी बढी आउन थालेको उहाँले जानकारी दिनुभयो ।
चिकित्सकले बिरामीलाई उपचारसँगै चिसोबाट बँच्न तातो झोल पदार्थ सेवन गर्न र न्यानोमा बस्न सल्लाह दिदै आएको उहाँको भनाई छ ।
चिसोले बालबालिकामा निमोनिया, ज्वोरो, खोकी, वान्ता हुने र सुत्केरी र वृद्धवृद्धामा जीउ सुनिने, ढाडकम्मर दुख्ने जस्ता समस्या देखा पर्न थालेको अस्पतालले जनाएको छ । चिसोका कारण हिडडुल गर्न समेत कठिन हुने गरेको स्थानीयको भनाई छ । नीजि आवास निर्माण सम्पन्न गर्न नसकी अस्थायी टहरामा बस्दै आएका कतिपय भुकम्प पीडित चिसोबाट बढी प्रभावित भएका छन् ।
बुधबार परेको झरीसँगै जिल्लाको उच्च भागमा तुसारो पर्न थालेको छ । जिल्लाको उच्च भागमा रहेका फिक्कल, महादेवडाँडा, जलकन्या, मझुवा, तीनकन्या, नेत्रकाली लगायतका ठाँउमा हिउँ तथा तुसारो पर्न थालेको सुनकोसी गाँउपालिका–७ मझुवा निवासी छेवाङ लामा बताउनुहुन्छ ।
जिल्लाका कतिपय ठाँउमा अझै निजी आवास पुनर्निर्माण सम्पन्न नभएको र विपन्न, दलित तथा जनजातीहरु सामान्य टहरामा बस्दै आएकालाई चिसोले बढी प्रभावित बनाएको स्थानीयको भनाई छ ।