सिन्धुली – सिन्धुलीका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कमलामाई, दुधौली नगरपालिका र तिनपाटन, गोलन्जोर, फिक्कल, मरिण, सुनकोशी, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिका सडक सञ्जालसँग जोडिएका हुन् । ९ स्थानीय तहका ७९ वडामध्ये अधिकांशमा सडक पुगेको छ ।
दुधौली नगरपालिकाको १४ वटै वडामा सडक पुगेको नगरप्रमुख घनश्याम राउतले बताउनुभयो । “नगरपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन् ।” उहाँले भन्नुभयो, “मदन भण्डारी राजमार्गसँग धेरै वडा जोडिएका छन् । ग्रामिण भेगका वडामा पनि सडक विस्तार भइसकेको छ ।” मदन भण्डारी राजमार्गले दुधौली नगरपालिकाको नौ वटा वडा छोएको छ । राजमार्गले वडा नम्बर १,२, ३, ४, ५, ७, ८, ९ र १० नम्बर वडालाई छोएको मेयर राउतले बताउनुभयो ।
साथै नगरका वडा भित्र स्थानिय सरकार, प्रदेश र संघको सहयोगमा कालोपत्रे सडक समेत निर्माण भएका छन् । “वडाका भित्रि सडक पनि कालोपत्रे निर्माण भएको छ । एडिभिको सहयोगमा वडा नम्बर १० र वडा नम्बर १३ जोड्ने सडक कालोपत्रे भएको छ । साथै वडा नम्बर ३ बाट वडा नम्बर ६ जोड्ने पनि कालोपत्रे सडक निर्माण भएको छ ।” उहाँले भन्नुभयो । नगरपालिकाले सडक निर्माणलाई प्राथमितामा राखेर काम गरेको नगरप्रमुख राउतको भनाइ छ । स्थानिय तह आएसँगै गाउँगाउँमा मोटरबाटो पुगेको उहाँले बताउनुभयो । “स्थानिय सरकार आए सँगै गाउँगाउँमा मोटबाटो पुगेको छ । प्रत्येक वडाको आफ्नै भवन निर्माण भएको छ । दुधौली नगरपालिकाको प्रशासनिक भवन समेत निर्माण भएको छ ।” उहाँले भन्नुभयो ।
तिनपाटन गाउँपालिकाको पनि प्रत्येक वडा सडक संजालसँग जोडिएको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरले जानकारी दिनुभयो । गाउँपालिकाको ११ वटै वडामा सडक विस्तार भएको उहाँको भनाइ छ । “स्थानीय सरकार बनेपछि सबै वडामा सडक पु¥याएका छौँ” उहाँले भन्नुभयो, “सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।”
कमलामाई नगरपालिकाको १४ वटै वडामा सडक विस्तार भएको छ । ग्रामिण भेगमा विस्तार भएको सडकमा भने बर्खाको समयमा बन्द हुदाँ स्थानियले सास्ति खेपनु परेको गुनासो गरेका छन् । नगरपालिकाको धेरै वडा विपि साथै मदभडारी राजमार्गसँग जोडिएका छन् । गाउँमा सडक विस्तार हुदाँ स्थानिय उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको स्थानियहरुले बताएका छन् ।
मरिण गाउँपालिकाको पनि सबै वडामा सडक विस्तार भएको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बन्जनले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर १ मा भने कच्चि सडकको कारण वर्खाको समयमा समस्या हुने गरेको उहाँको भनाइ छ । यस्तै गोलन्जोर गाउँपालिकाको पनि प्रत्येक वडा सडक संजालसँग जोडिएको छ । जिल्लाको सुनकोशी, घ्याङलेख, फिक्कल र हरिहरपुरगढी गाउँपालिकाका वडा सडक सँग जोेडिएका छन् ।