शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छनः पूर्वयुवराज पारस

बिहिवार , पौष १५, २०७८

काठमाडौँ – पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताउनु भएको छ । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त गर्नु भएको छ । नेपाललाई सार्वभौम सम्पन्न बनाउन आफ्ना पुर्खाहरुले गरेको त्याग र बलिदानको पनि उहाँले स्मरण गर्नु भएको छ ।

जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घटनाहरुको साक्षी बनेको बताउँदै पारसले आफ्नो फेसबुक पोस्टमा आफू वयस्क भएको र धेरै कुरा सिकेको बताउनु भयो ।

बिहीबार ५०औं जन्म दिन मनाउनु भएका पारसले जीवन जिउने क्रममा आफूले आफ्ना सहकर्मीबारे जान्ने अवसर पाएको र प्रत्यक्ष रुपमा सांस्कृतिक विविधतावारे अनुभव गरेको उल्लेख गर्नु भएको छ ।

पारसले भन्नु भयो, “यस लामो दौरानमा मैले जीवन परिवर्तन गर्ने घटना र महत्वपूर्ण क्षणको अनुभव र साक्षी हुन पाएको छु । यसबाट म हुर्किएको छु र आफ्नैबारे धेरै सिकेको छु ।”

५० औँ जन्मदिनमा ब्युँझँदा विश्व समुदायमा नेपाल अद्वितीय ठाउँका रुपमा महसुससमेत भएको उहाँले उल्लेख गर्नु भएको छ । “हाम्रो धार्मिक र सांस्कृतिक पहिचानको रक्षाका लागि यस्ता कुराले मलाई उत्प्रेरित गर्ने गरेको छ । नेपालमा उल्लेखनीय सम्पन्नता छ र हामी एक भएर उपलब्धिहरु हासिल गर्न सक्छौँ’, उहाँले भन्नु भएको छ ।

उहाँले ५० वर्षको उमेरमा स्वास्थ्य र परिवार नै महत्वपूर्ण दुई उपहार रहेको उल्लेख गर्दै आफुलाई ती सबै प्राप्त भएको पनि बताउनु भयो । भावी पुस्ताका लागि समतामूलक र स्थीर नेपाल निर्माणका लागि आफ्नो लगातारको प्रयत्नका लागि त्यसले सहयोग पुर्‍याइरहेको पनि बताउनु भयो ।

जटिल परिस्थितिको समयमा पनि आफूले पाएको निस्वार्थ प्रेम सच्चा नेपाली भावना भएको उहाँले बताउनु भयो । परिवार र शुभचिन्तकहरुको निरन्तरको सहयोगका कारण अरुको उत्थान गर्न सजिलो भएको र त्यसले आगामी पुस्ताका लागि अझै स्थिर र समतामूलक नेपाल बनाउन सहयोग गर्ने पारसले बताउनु भयो ।

प्रतिक्रिया