सिन्धुलीको कमलामाई नगरपालिकामा अहिले दोश्रो नगर स्तरीय मेयर कप संचालन भइरहेको छ । उक्त प्रतियोगितामा उल्लेखनिय दर्शकले साथ दिईरहेका छन् । प्रतियोगितामा समावेश भएका टिमहरुले उत्कृष्ठ खेल खेलेका छन् । उक्त प्रतियोगितमा खेलाडीको प्रर्दशनले जिल्लामा पनि उत्कृष्ठ खेलाडीहरु छन् भन्ने देखाएको छ । जिल्लामा यस्ता प्रतियोगिताहरु संचालन हुँदा खेलाडीको समग्र विकासमा टेवा पुग्ने गरेको छ । तर, दुर्भाग्यनै भन्नुपर्छ खेलकुदको विकासमा स्थानिय सरकारले केहि पनि गर्न सकेको छैन ।
बेलाबखतमा हुने यस्ता प्रतियोगिताले खेलाडी र दर्शकमा जोश त भर्छ नै तर ती सबै क्षणिक हुने गर्दछ । जिल्लाको अन्य स्थानिय तहमा पनि स्थानिय सरकारले प्रतियोगिताहरु संचालन गर्दै आएपनि समग्र खेलकुदको विकासमा भने कुनै पनि स्थानिय तह खरो भएर उत्रन सकेको छैन । जिल्लामा खेल्नकालागि मैदानको अभाव छ भने खेलकुदप्रति स्थानिय सरकार उदार छैन ।
करातेका अन्तराष्ट्रिय मेडलिष्ट गोपी बम्जन यहि जिल्लाका हुन् । सिन्धुलीमा कयौँ गोपी छन् जस्ले थुप्रै मेडलहरु नेपालमा ल्याउन सक्छन् तर तिनिहरुलाई अवसर दिइएको छैन । खेलकुदमा उत्कृष्ठ प्रदर्शन गर्न सक्ने क्षमता भएपनि राज्यले कुनै पनि सहयोग नगर्दा गोपी जस्ता कयौँ खेलाडीले आफ्नो सिप र कला गुम्साएर राख्नुपरिरहेको छ । तसर्थ, जिल्लामा खेलाडीहरुलाई प्रशिक्षण र खेलकुदको विकासमा सम्बन्धित निकायले धेरै गृहकार्य गर्न आवश्यक छ । जिल्लामा रहेका क्लबलाई सहयोग गर्दै उत्कृष्ठ खेलाडी उत्पादन गर्न जिम्मेवार निकायको भुमिका अह्म हुन्छ । अतः समग्र खेलकुदको विकासकालागि स्थानिय देखि केन्द्रिय सरकार गम्भिर हुन आवश्यक छ ।