सिन्धुली, – सिन्धुली जिल्लामा सात वटा स्थानीय तहले जनताको सेवाका लागि गाउँ तथा नगर प्रहरी राखेका छन् ।
जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेर जनतालाई सेवा प्रवाह गरेको जनाएका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्बाचित भएर आएसँगै स्थानीय तहले गाँउ तथा नगर प्रहरी भर्ना गरी सेवा दिन थालेका हुन् ।
जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाँउपालिका, फिक्कल गाँउपालिका, मरिण गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका र तीनपाटन गाँउपालिकाले नगर प्रहरी भर्ना गरेका छन् । सुनकोसी गाँउपालिका र घ्याङलेख गाँउपालिकाले भने आवश्यक नरहेको भन्दै अहिलेसम्म नगर प्रहरी भर्ना गरेका छैनन् ।
स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (क) मा व्यवस्था भए बमोजिम नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको गोलन्जोर गाँउपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले जनाकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगर प्रहरीले कार्यालयको काममा सहजीकरण गर्नुका साथै सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण, विपद व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनस्र्थापनालगायतका काममा जुटेका छन् ।”
अनाधिकृत निर्माण एवम सार्वजनिक सम्पति अतिक्रमण रोकथाम र नियन्त्रण गर्न प्रतिस्पर्धाको आधारमा करार सेवामा तीन जना गाउँ तथा नगर प्रहरी भर्ना गरी सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । गाँउ तथा नगर प्रहरी हाल कमलामाई नगरपालिकामा असईको कमाण्डमा १२ जना, दुधौली नगरपालिकामा असईको कमाण्डमा १६ जना, हरिहरपुरगढी गाँउपालिकामा चार जना, मरिण गाँउपालिकामा छ जना, फिक्कल गाँउपालिकामा पाँच जना, तीनपाटन गाँउपालिकामा दुई जना, गोलन्जोर गाँउपालिकामा तिन जना रहेका सम्बन्धित पालिकाले जनाएका छन् ।
गाउँ प्रहरी राखेपछि विभिन्न कामकाजमा सहयोग पुगेको फिक्कल गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पालिकाले हवल्दारको कमाण्डमा तीन जना पुरुष र दुई जना महिला गाँउ प्रहरी भर्ना गरी सेवा दिएको छ । गाँउसभाबाट दरबन्दि सिर्जना गरी गाँउ प्रहरी भर्ना गरिएको हो ।’
कमलामाई नगरपालिकाका प्रशासकिय अधिकृत सागरकुमार ढकालले ४५ जना नगर प्रहरी भर्ना गर्ने नगरपालिकाको योजना रहेको जानकारी दिदै भन्नुभयो, ‘हाल १२ जना कार्यरत रहेका छन् । अरु छ जना भर्ना प्रकृयामा रहेका छन् ।’ उनीहरुले बाताबरण संरक्षणदेखि कार्यालयको काममा समेत सहयोग पु¥याउने गरेको उहाँको भनाई छ ।