सिन्धुली –सिन्धुलीमाढीमा रहेको कृषि उपज बजार भित्रको कृषक चौतारी संचालनमा आउन सकेको छैन । किसानले उत्पादन गरेको तरकारी सहज रुपमा विक्री गर्नका लागि निर्माण भएको कृषक चौतारीमा किसानले चासो नदिएको कारण संचालनमा आउन नसकेको हो ।
कृषि उपज बजार भित्र निःशुल्क रुपमा किसानले उत्पादन गरेको तरकारी विक्री गर्नका लागि २ वटा सटर व्यवस्थापन गरिएको छ । उक्त सटर अहिले संचालनमा आउन सकेको छैन । किसानले उत्पादन गरेको तरकारी किसान आफैले विक्री गर्न निर्माण गरिएको सटरमा किसान नआएको कारण संचालनमा आउन नसकेको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ ।
बारम्बार किसानलाई उत्पादन गरिएको तरकारी विक्री गर्न कृषक चौतारीमा आउन अनुरोध गर्दा समेत वेवास्था गरेको कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक नबराज खड्काले बताउनुभयो । उहाँका अनुसार किसान नै विक्री गर्न नआएको कारण कृषक चौतारी संचालनमा आउन नसकेको हो । “अहिले सम्म कुनै किसान विक्री गर्न आएका छैनन् । गत वर्ष फिक्कल गाउँपालिकाको एक किसानले किबि विक्री गर्न ल्याउनु भएको थियो । एक पटक कमलामाई नगरपालिका ७ को कृषकले टमाटर विक्री गर्न ल्याउनु भएको थियो । त्यस पछि आज सम्म कुनै किसान आएका छैनन् ,” खडकाले भन्नुभयो ।
नेपाल सरकारको ६० प्रतिशत र ४० प्रतिशत कृषि उपज बजार व्यवस्थापन समितिको लगानीमा कृषक चौतारी निर्माण भएको खडकाले बताउनुभयो । उक्त कृषक चौतारी चौविसै घण्टा खुल्ला रहेपनि किसान नआएको उहाँको भनाइ छ । “हामीले किसानलाई यहाँ विक्री गर्न ल्याउन आग्रह गरिरहेका छौँ । किसानहरु बरु बाटोमा तरकारी विक्री गर्न बस्छन् तर यहाँ आउँदैनन् । सहज रुपमा निशुल्क विक्री गर्न व्यवस्थापन गर्दा समेत किसानले वास्ता गदैनन्,” खडकाले भन्नुभयो ।
कृषक चौतारीमा तरकारी तथा फलफुल विक्री गर्न आउने किसान आएपनि उनीहरुले आफ्नो व्यक्तिगत बनाइ दिनु प¥यो भनि निवेदन सहित आउने गरेको खड्काले बताउनुभयो । “जति पनि किसान यहाँ तरकारी तथा फलफुल विक्री गर्न आएका छन् । उनीहरुले यो सटर आफ्नो नाममा बनाइ दिनु प¥यो भनि निवेदन दिएका छन् । सबै किसानले विक्री निर्माण गरेको सटर व्यक्तिगत बनाउन मिल्दैन भनेर हामिले भने पछि विक्री गर्न नै आउन छाडे, ” उहाँले भन्नुभयो । किसानले सहज रुपमा निशुल्क बसेर आफुले उत्पादन गरेको तरकारी विक्रि गर्न पाउने कृषि चौतारी निर्माण गरिएको भन्दै प्रचारप्रसार गरिरहेको खडकाले बताउनुभयो ।
यता किसानले भने सहज रुपमा आफुले उत्पादन गरेको तरकारी तथा फलफुल विक्री गर्न व्यवस्थापन गरिदिन माग गरिरहेका छन् । किसानलाई कृषि उपज बजार भित्र कृषि चौतारी निर्माण भएको जानकारी नै नभएको बताएका छन् । कमालमाई नगरपालिका ४ ज्यामिरेका एक तरकारी किसानले भन्नुभयो, “कृषि चौतारी भन्ने हामीलाई थाहा नै छैन । सहज रुपमा कृषि उपज बजारमा तरकारी विक्री गर्न मिलाइदिए राम्रो आम्दानी लिन सकिन्थ्यो ।”