सिन्धुली लगायत देशभर अहिले जाडो बढेको छ । पुषमा अत्याधिक जाडो बढ्ने हुँदा सतर्क रहन सरकारले अनुरोध पनि गरेको छ । जाडोयाममा न्यानो र बाक्लो कपडा नलगाउने हो भने विभिन्न रोगले शरिरलाई अस्वस्थ बनाउछ । जिल्लामा न्यानो कपडा लगाउन नपाएर कठ्यांग्रिएरै बस्ने परिवार ठूलो छ । जिल्लामा स्थानिय सरकारले विगतका वर्षहरुमा कपडा तथा सिरक र डस्ना वितरण गर्ने गरेपनि अहिले भने स्थानिय सरकार सुस्त देखिएको छ । स्थानिय सरकराले जाडोयाममा राहतको कार्यक्रम नल्याउँदा विपन्न घरपरिवारको दैनिक कष्टपुर्ण भएको छ । विशेषगरी, बालबालिका र वृद्धवृद्धाहरु जाडोको कारण अस्वस्थ हुने गरेका छन् । विगतका वर्षमा देशमा चिसोकै कारण मृत्यु हुनेको संख्या दर्जनौँ थियो । अहिले पनि चिसो अत्याधिक बढेकाले विपन्न तथा गरिब परिवारलाई सरकारले राहत बाढ्न जरुरी छ ।
विकसित देशहरुमा कपडा खरिद गर्न नसक्नेकालागि हुनेखानेले बाटोमै कपडा झुण्डाएर राखिदिने चलन छ । नेपालमा पनि केहि जिल्लामा यस्ता कार्यक्रमहरु संचालन भएका छन् । व्यक्तिगत तबरबाट विपन्न तथा गरिब परिवारलाई सहयोग मिल्ला वा नमिल्ला त्यो फरक पाटो हो । तर, गरिब परिवारको दुःखमा मलम लगाउन सरकारले प्रयास गर्नैपर्छ । तसर्थ, सरकारको अनुभुति दिलाउनकालागि गरिब तथा विपन्न परिवारलाई जोडाको मौसममा राहत वितरण गर्नतर्फ सम्बन्धित निकायले यथाशिघ्र कदम चाल्न आवश्यक छ ।