सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३ तल्लो खुट्टेपानीमा बुधबार रातको दुईबजे तीन वटा जंगली हात्तीको समूह बस्तीमा पस्यो । जाडोमा गुटुमुटु भएर सुतिरहेका स्थानीयको भागदौड चल्यो । हात्तीबाट बालबालिकाहरु बढी डराए । अविभावकहरुले गणेश भगवानलाई पुकार गदैँ आफूहरुको सुरक्षा गरिदिनु भन्दै बिन्ति बिसाउनुको विकल्प देखेनन् । नभन्दै कविराज खत्री र मुसो अधिकारी दनुवारले कुटाउन सुकाएर राखेको धान नष्ट गरेपछि माथिल्लो खुट्टेपानी हुँदै झुंगा खहरेबाट हात्तीको समूह जंगलतर्फ लम्कियो ।
अघिल्लो रात कालापानीमा ७ घर भत्काउनुका साथै भकारीको ३० मुरी धान हात्तीले खाएको वडा अध्यक्ष साने धामीले बताउनु भयो । उहाँका अनुसार स्थानीय दिपलाल धामी, प्रेमलाल कुमर, रितलाल कुमर, रति धामी, दोर्जे मोक्तान, तेजनाथ अधिकारी र बालकुमारी धामीको घर भत्काइदिएको थियो ।
घर भत्काउनुकासाथै ६ मुरी धान, १६ पाथी चामल र तीन मुरी मकै हात्तीले नष्ट गरिदिएको पीडित तेजनाथ अधिकारीले दुखेसो गर्नुभयो । रातभर बिजुली बत्ती र धुनी बालेर बस्दा पनि हात्तीले दुख दिन छोडेन,‘ उहाँले भन्नुभयो,‘ रातभर सुत्न सक्दैनौँ हात्तीको त्रासले, परिवारसँगै गाँस र बास जोगाउने चिन्ता बढेको छ ।’
यसअघि शुक्रबार (पुस ३ गते) राति दुधौली–११ माथिल्लो पत्रिगांको मुसहर बस्ती र गैरीमा २८ घर हात्तीले भत्काइदिएको वडा अध्यक्ष कुमार लामाले बताउनु भयो । यस्तै हर्षाहीमा पनि दुई घर भत्काइदिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार दुधौली क्षेत्रमा तीन वर्ष यता वर्षेनी पटक–पटक हात्तीले मानवीय तथा भौतिक क्षती गदैँ आएको छ । अन्नबाली नष्ट गर्नुका साथै घरपनि भत्काइदिने गरेको छ । क्षतीको यकिन तथ्यांक कुनै निकायसँग छैन । बस्तीमा हात्तीको आतंक बढेसंगै दुधौलीवासीको जनजीवन त्रसित छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट पर्सा राष्ट्रिय निकुञ्जमा आउजाउ गर्ने क्रममा हात्ती दुधौलीमा देखिएको हुनसक्ने डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख थिरबहादुर कार्कीको अनुमान छ । ‘जंगली हात्ती वर्षमा एकदेखि दुईपटक एक निकुञ्जबाट अर्को निकुञ्ज बसाइँ सर्दछन् । यसरी बसाइँ सर्दा उनीहरुले पहिलेदेखि प्रयोग गदैँ आएको बाटो प्रयोग गर्छन् ।’ कार्कीले भन्नुभयो ।हात्तीलाई आफ्नो बाटो निर्वाध हिड्न दिन र नजिस्काउन उहाँको सुझाव छ ।
चुरे क्षेत्रमा घाँस काट्ने क्रममा दुधौली नगरपालिका–३ माथिल्लो खुट्टेपानीकी मनमाया तामाङ्ग भालुको आक्रमणमा पर्नुभयो । तीन महिनाअघि भालुले लछारपछार गरेर कोतरेर बनेका खतहरु अहिलेपनि शरीरमा ताजै छन् । घाउ सिलाएका डोबहरु देखाउँदै उहाँ भन्नुहुन्छ, ‘चोटको दुखाइ झनझन् बढिरहेको छ, राम्रो अस्पतालमा उपचार गर्न खर्च छैन, गाउँको स्वाथ्य चौकीमा उपचार राम्रो छैन ।’
दाउरा, घाँस र बनीबुतो गरेरै पाँच जनाको परिवार धान्दै आउनु भएकी उहाँ भालुको आक्रमणमा परेदेखि बिहान, बेलुकाको छाक भिख मागेर टार्न बाध्य हुनुहुन्छ । पचास वर्षको उमेरमा लौरीको साहारा लिएर चामल, तरकारी, नून, भुटुनको जोहो गर्न उहाँलाई पिरलो छ । ‘पहिलाको जस्तो काम गर्न सक्दिन, एकै ठाउँ बसेर दिमागले गर्ने काम गर्न पढ्लेख छैन, बलले गर्ने ज्याला-मजदुरीको काम शरीर कमजोर भएपछि कसैले पत्याउँदैनन् ।’ तामाङ्गले आँसु खसाल्दै दुखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, ‘मागेर खानलाई पनि सहज छैन, कसैकसैले त नानाथरी बचन लगाउँछन् ।’
बिरामी श्रीमान्, अपाङ्गगता अवस्थाको छोरो र बाह्र वर्षीया छोरी रहेकी उहाँ आफूसमेत भालुको आक्रमणमा परेर कमजोर भएपछि सहयोगको याचना गरिरहनुभएको छ । गरेर खान आफ्नो खेतबारी छैन । शारीर अस्वस्थ छ । शारीरिक अवस्थाका कारण पहिलाको जस्तो काम गर्न नसकेपछि भिख मागेर खान बाध्य भएको उहाँ बताउनुहुन्छ ।
जंगली भालुसँगै बाँदर, हात्ती, बाघ आतंक पनि बढेको जंगली जनावर पीडित स्थानीय बताउँछन् । किसानहरु बस्तुभाउलाई घाँस काट्न चुरे क्षेत्र जान्छन् । घाँस लगाउने जग्गाको अभावमा जंगल धाउनु परेको उहाँहरुको भनाइ छ । चुरेको घाँस र दाउराको भरमा जीवन निर्वाह गर्दै आइरहेका स्थानीयलाई पछिल्लो समय जंगली जनावरको आतंक बढेसँगै त्रास छ ।
घाँस काट्न चुरे जंगल हिड्दै गर्नुभएकी अप्सरा पौडेल ‘भरे घर सकुशल फर्किन सकुँ’ भनेर भगवान पुर्कादै हिड्ने गरेको बताउनु हुन्छ । ‘घाँस लगाउने जग्गा आफ्नो छैन, अलिकति भएको बारीमा अन्नबाली लगाउँछौँ । पराल, ढोड बारीकै हाल्छौँ । अरु हरियो घास दुईचार दिनलाई पनि पुग्दैन आफ्नो बारीकोले, त्यसैले जंगल जानै पर्छ,’ उहाँले भन्नुभयो, ‘ यति दुख नगरे नून-भुटुन के गरेर खानु ? ’जंगलबाट बाँस, भुर्कुट, अम्रिसो, चुँवालगायतका घाँस ल्याउने गरेको उहाँले बताउनुभयो ।
चुरेको घाँसले दूध दिने भैँसी पालेर जीविका चलाउँदै आएका उक्त क्षेत्रका किसानहरु पाँच वर्ष पहिले जंगली जनावरहरुको आतंक यस्तो नभएको बताउँछन् । दुई वर्ष यता जंगली जनावरका कारण जंगलसंगै घरगाउँसमेत असुरक्षित भएको स्थानीय कुन्ता थापाको भनाइ छ ।
दाउरा बेचेर जीविकोपार्जन गदैँ आएकाहरु बिहान सबेरै दाउरा खोज्न चुरे जान बाध्य छन् । बसौँदेखि दाउरा बेचेर घरव्यवहार चलाउँदै आउनुभएका मंगले सार्की जंगली जनावरको त्रासले आफ्नो रोजीरोटीमा असर परेको बताउनुहुन्छ । बिहान दाउरा बेचेर बेलुकाको छाक टार्ने सुकुम्बासी परिवारका सार्की ज्यानको बाजी राखेर त्रासबीच दाउरा लिन चुरे जानुको विकल्प नभएको दुखेसो पोख्नु हुन्छ ।
तल्लो खुट्टे्पानीकी बालकुमारी खड्का जंगली बाँदर पीडित हुनुहो । काठको अभावले भर्खरै बनेको घरमा ढोका, झ्याल हाल्न बाँकी छ । मेलापात, घाँस, दाउरा गएको बेला बाँदरले घरमा थन्काईएको मकै, कोसेबाली, बारीमा लगाएको अन्नबाली र रोडमाथि बगैँचामा लगाएको आँप, भुइँकटहर सखाप बनाइदिने गरेको उहाँ बताउनुहुन्छ । ‘घरमा आफू एक्लो छु, मेलापातमा गएको बेला बाँदरले थन्काएको अन्नपात समेत बाँकी राखिदिएन । बारी र रोडमाथि लगाएको बालीनानी, तुलफूल झन् सखाप नै बनाइदिन्छ,’ उहाँले भन्नुभयो,‘ बाँदर धपाउन घरमा बस्दा मेलापातको काम हुँदैन, मेलापात गर्न जाँदा घरबारीको अन्नबाली बाँदरले राखिदिँदैन ।’दिनमा बाँदर र रातमा हात्तीको आतंकले गाँस र सुरक्षित बासको चिन्ता भएको उहाँले सुनाउनुभयो ।
हात्ती, बाँदर र भालु जस्ता जंगली जनावरका कारण पिरोलिएका यी त दुधौली नगरपालिका क्षेत्रका केही प्रतिनिधि पात्रका रुपमा प्रस्तुत उदाहरण मात्र हुन् । यी बाहेक बाघ, दुम्सी, चितुवा लगायतका जनावरबाट बर्षेनी पीडित हुनेको संख्या कम छैन । तर, घटना न्यूनीकरण गर्न तर्फ स्थानीय सरकारको समेत चासो नहुनु दुखद् भएको बर्षेनी जंगली जनावरबाट पीडित स्थानीय बताउँदै आएका छन् ।
हिमालय टाइम्सबाट साभार