सिन्धुली – सिन्धुलीको ग्रामिण क्षेत्रमा परालको गुन्द्री बुन्ने परम्परा हराउन थालको छ । जिल्लामा प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो ।
गाउँघरमा पाइने बाबियोको डोरीको तान लगाएर गुन्द्री बुन्ने चलन हराउन थालेको छ । विशेषगरी ःमंसिर, पुस माघ महिनामा पारिलो घाममा तान लगाएर परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको कमलामाई नगरपालिका–५ की तुलसा घिमिरेले बताउनुभयो । “पहिले मंसिर पुस लागेपछि तल्लो घर माथिल्लो घरका सबै मिलेर तान लगाइन्थ्यो । गुन्द्री बुनिन्थ्यो । अहिले त यो चलन हराउँदै गएको छ,” उहाँले भन्नुभयो ।
हिन्दु संस्कारमा चोखो निधो कार्यमा परालको गुन्द्री आवश्यकताको पर्ने कमलामाई नगरपालिका ४ कि ६६ वर्षिय मन कुमारी लामिछाने बताउनुहुन्छ । “ घरमा कुनै काज्र्य गर्दा चोखो निधो परालको गुन्द्री चाहिन्थ्यो । गुन्द्री बुनेर घरमा कार्जय पर्दा चाहिन्छ भनेर राखिन्थ्यो । ,” उहाँले भन्नुभयो, “अहिलेको मानिसले पहिले जस्तो दुःख पनि गर्दैनन् । पैसा भएपछि बजारमा सजिलै प्लास्टिकका गुन्द्री पाइन्छ । त्यही किन्छन् । प्रयोग गर्छन् । गुन्द्री बुन्ने, प्रयोग गर्ने चलन त हराइ सक्यो ।”

उहाँका आफैले घरमा बनाएको गुन्द्री भन्दा प्लास्टिकको गुन्द्री चिसो हुन्छ । अहिले कहीँकतै गुन्द्री बुन्दा सुतारीको डोरी प्रयोग गरिन्छ । सुतारीको डोरीमा बुनेको गुन्द्रीभन्दा बाबियोले बुनेको गुन्द्री धेरै राम्रो र टिकाउ हुने उहाँले आफ्नो अनुभव सुनाउनुभयो । “हाम्रो पालामा त बाबियो काटेर । बाबियो बाटेर तान लगाइ गुन्द्री बुन्ने चलन थियो । अहिले त बाबियो पनि मासिँदै छ । बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,” पहिलाका दिन सम्झिदै उहाँले भन्नुभयो, “घर नजिकै समथर बारी, आँगनमा तलमाथि चारवटा किला गाडि तलमाथिका किलामा नै दुईवटा काठ तेर्साइ काठको हतासो भित्र डोरी छिराइ त्यसलाई काठमा बाधि सर्लक्क परेका लामो परालको घान हाली दायाँबायाँ हातैले बिट मारि हतासोले ठोकि गुद्रि बुनिन्थयो । लामो परालको गुन्द्री बुन्न सजिलो हुने र गुन्द्री राम्रो हुने पनि हुन्छ ।”
निरन्तर बुनेमा एकदिनमै एउटा गुन्द्री बुन्न सकिने सुनकोशी गाउँपालिकाकी ७८ वर्षिय विन्दा थापाले आफ्नो अनुभव सुनाउनुभयोे । तर गुन्द्री बुन्न दिनभरि नै टुक्रुक्क परेर बस्नुपर्ने भएकाले केही सकस हुने उहाँले बताउनुभयो ।
पुराना पुस्ताका अनुसार विगतमा घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्थ्यो । इज्जत हुन्थ्यो । तर अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । घरमा आएकालाई अचेल बस्नलाई आधुनिक कुर्सी, बेन्च दिइन्छ । गुन्द्री बुन्नु आफ्नो आवश्यकता पूरा गर्नुमात्र नभइ आत्मनिर्भर पनि बन्नु हो । गाउँघरमै प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुख्र्याैली सिप, हस्तान्तरण गर्ने संस्कृतिमा पनि कमी आएको छ ।
नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सिप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको संख्या निकै कम छ । नेपाली समाजमा विवाह गरेको घर तथा कोही बितेको एक वर्ष नपुगेसम्म गुन्द्री बुन्न नहुने धार्मिक परम्परा रहिआएको छ ।
आधुनिकता र सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, थर्कटी र चकटी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकोमा पुराना पुस्तालाई दुःख लाग्छ । यसको संरक्षण गर्नु जरुरी छ । नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुख्र्याैली सिप हस्तान्तरण गर्न जागरुक भएमा हराउँदै गएका यस्ता हाम्रा मौलिक परम्परा, संस्कृति संरक्षण गर्न सकिने सरोकारवालाहरु बताउँछन् ।