बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको इन्टरनेट प्रदायकको लापर्वाहीमाथि प्रश्न उठाऊ

मंगलवार , पौष ६, २०७८

सिन्धुलीमा उपभोक्ताले इन्टरनेटको समस्या वर्षौँदेखि झेलिरहनुपरेको छ । सोमबार जिल्लाका अधिकांश ठाउँहरुमा इन्टरनेटको समस्या देखियो । सोमबार मात्र नभएर अन्य दिनमा पनि उपभोक्ताले सुस्त इन्टरनेटको गतिका कारण आक्रोशित बनेका छन् । इन्टरनेट प्रदायकले गुणस्तरीय इन्टरनेटको सेवा नदिएपछि ग्राहकको असन्तुष्टि चुलिएको छ । विभिन्न कम्पनिको इन्टरनेट जिल्लामा भित्रिएपनि गुणस्तरहिन इन्टरनेटका कारण ग्राहक चिढिएको अवस्था छ ।

सिन्धुलीको कमलामाइ नगरपालिका लगायत अन्य स्थानिय तहमा इन्टरनेटको सुविधा उपलब्ध गराउँदै आएका इन्टरनेटप्रदायकले ग्राहकको असन्तुष्टिलाई पनि नजरअन्दाज गरेको अवस्था छ । जिल्लामा थोरै प्रदायकले मात्र इन्टरनेटको सुविधा दिदैँ आएका छन् । सबैजसो कम्पनिको इन्टरनेटको अवस्था कमजोर छ । यस्तो अवस्थामा खाए खा, नखाए.. भनेजस्तै सिन्धुलीवासीले नराम्रै भएपनि इन्टरनेट चलाउन पाईएको छ भन्दै चित्त बुझाउनु परेको अवस्था छ । जिल्ला प्रशासन कार्यालय, स्थानिय तह लगायत सरोकारवाला निकायले पनि इन्टरनेटको समस्याका बारेमा मौन बस्दा इन्टरनेट प्रदायकले एकाधिकारको गलत प्रयोग गर्दै आएका छन् ।

जिल्लामा इन्टरनेटमा देखिएको समस्याको मुख्य कारण इन्टरनेट प्रदायकको लालचिपन नै हो । प्राविधिक पक्षमा गडबड हुनु सामान्य हो तर क्षमता भन्दा बढि ग्राहकलाई इन्टरनेट उपलब्ध गराउदा इन्टरनेट स्पीडको समस्या हुने इन्टरनेटका जानकार बताउने गर्छन् । इन्टरनेट प्रदायकले पनि ग्राहकको सेवासुविधालाई वास्ता नगरेर ग्राहक बढाउनमै केन्द्रित छन् । जिल्लामा इन्टरनेटको हरिविजोग अवस्थालाई ध्यान दिदैँ जल्ला प्रशासन लगायत सरोकारवाला निकायले इन्टरनेट प्रदायकलाई बोलाएरै छलफल गरि समाधान निकाल्नतर्फ जोड गर्नुपर्छ । अतः भौगोलिक हिसाबले पनि राम्रै स्थानमा रहेको सिन्धुलीमा इन्टरनेटमा खडा भएको अवरोध हटाउन सम्बन्धित पक्ष गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया