सिन्धुली लगायत देशभर अहिले राजनैतिक दलको चहलपहल बढेको छ । पार्टी विस्तार, अधिवेशन तथा नेतृत्व चयन लगाय राजनैतिक गतिविधि बढिरहेको छ । निर्वाचन आयोगले नै आगामी वैशाखमा स्थानिय तहको चुनाव हुने संभावना प्रबल रहेको जनाएको छ । चुनावलाई नै मध्येनजर गर्दै जनप्रतिनिधिहरु जिल्ला दौडाहामा लागिपरहेका छन् ।
आफ्नो क्षेत्रलाई प्राथमिकतामा राखेर जनप्रतिनिधिहरु अनुगमनको माध्यमबाट होस् वा करारमा कर्मचारी भर्ति गरेर आफ्नो पकड बनाउन प्रयासरत छन् । केहि जनप्रतिनिधि, शिक्षक लगायत सरकारी कर्मचारीले विधिविधाननै मिचेर राजनैतिक दलको काममा व्यस्त भएको दृश्यहरु पनि नदेखिएको होइन । अहिलेसम्म नागरिकको हितमा के कस्ता काम गरे त्यस्को वेलिविस्तार सुनाउने भन्दा पनि बाँकी कार्यकाललाई कसरी परिमाणमुखि बनाउने भन्नेतर्फ जनप्रतिनिधिहरु केन्द्रित हुन आवश्यक छ ।
दलहरुको अधिवेशनले गर्दापनि नेता तथा कार्यकर्ताहरु गाउँगाउँ छिरेको अवस्था छ । अधिकांश जनप्रतिनिधिहरुले आगामी चुनावलाई केन्द्रमा राखेर चुनावी गतिविधिमा सहभागि भइरहेका छन् । पार्टीप्रति आस्था राख्नु हरेक नागरिकको अधिकार हो ।
तर, जे कामकालागि भनेर नागरिकले जिताएका हुन् त्यस कामबाट विचलित भएर आफ्नो भविष्य सुदृढिकरण गर्नतर्फ जनप्रतिनिधि लाग्ने हो भने राज्यको लगानी बालुवामा पानी हाले सरह हुन्छ । तसर्थ, राज्यको ढुुकुटि सक्काएर आफ्नो राजनैतिक भविष्य सुधार गर्नतर्फ जनप्रतिनिधि लाग्नुहुदैँन । अतः आफ्नो कामबाट जनताको मत जित्नतर्फ जनप्रतिनिधि केन्द्रित हुन जरुरी छ ।