शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा जंगली हात्तीले आज पनि ताण्डव मच्चायो (हेर्नुस भिडियो)

आइतवार , पौष ४, २०७८

सिन्धुली — जंगली हात्तीले गएराति दुधौली नगरपालिका–११ लमाहाडाँडामा घर भत्काएको छ । एकलासमा रहेको अना सदा मुसहरको घर तीनवटा हात्तीले शनिबार राति भत्काएर क्षति पुर्‍याएको वडाध्यक्ष कुमार लामाले जानकारी दिनु भयो ।

हात्तीले आएको संकेत भएपछि अनाको परिवार सुरक्षित स्थानमा रातभर लुकेर बसेको वडाध्यक्ष लामाले बताउनु भयो । हात्तीले घर भत्काउनुका साथै भण्डारमा राखेको धान, अन्य अन्नबाली नष्ट गरिदिएको छ । टायलको छाना लगाएको घर भत्काउँदा भाँडावर्तन र लत्ताकपडा समेत नष्ट भएको छ ।

सोही वडाको माथिल्लो पत्रिङ्गामा दुईदिनमा जंगली हात्तीले १८ घर भत्काएको छ । यो समेत जंगली हात्तीले भत्काएको घरको संख्या १९ पुगेको छ । अहिले पनि हात्ती बस्ती नजिकै लमाहा खोल्सीमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् ।

 

हात्ती दिउँसो जंगलमा बस्ने राति बस्तीमा छिरेर घर भत्काई उपद्रो मच्चाउने गरेका छन् । वडाध्यक्ष लामाले जंगली हात्तीले दुःख दिएको जानकारी डिभिजन वन कार्यालयलाइ गराएको जनाउनु भएको छ ।

 

डिभिजन वन कार्यालय सिन्धुलीले पर्सा राष्ट्रिय निकुञ्जबाट कोसीटप्पु जाने क्रममा ती हात्ती आएको हुनसक्ने जनाएको छ । गत वर्ष पनि हात्तीले दुधौली नगरपालिकाको विभिन्न वडामा दुइदर्जन बढी घर भत्काएर क्षति पुर्‍याएको थियो ।

वि.सं. २०७७ साल चैत महिनामा सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित धुराबजार (बस पार्क छेवै) मा भित्रिएको हात्तीको भिडियो हेरौँः

प्रतिक्रिया