शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा जुनार जोगाउनै मुस्किल

शुक्रवार , पौष २, २०७८

सिन्धुली, – सिन्धुली चिनाउने फल जुनारमा सिट्रस ग्रिनिङ रोगको समस्या देखा पर्न थालेको छ । जुनारमा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स प्रकोप नियन्त्रणमा नआउदै अर्को रोगले आक्रमण गरेपछि सिन्धुलीको जुनार जोगाउन मुस्किल हुदै गएको छ ।

जिल्लाको प्रमुख नगदे फलको रुपमा रहेको जुनारमा विभिन्न रोग देखा परेपछि बर्षौदेखि जुनार खेती गर्दै आएका किसान चिन्तामा परेका छन् । जुनारमा नयाँ रोग सिट्रस ग्रिनिङ देखा परेपछि जुनारको बोटनै काट्नु परेको गोलञ्जोर गाँउपालिका ४ का किसान श्यामकुमार ठकुरीले सुनाउनु भयो ।

सुन्तलाजातमा लाग्ने उक्त रोगले सिन्धुलीको जुनार क्षेत्रका बगैचामा समेत असर गर्न थालेको किसान बताउछन् । जुनारको पातबाट सुरु हुने रोगले बोटको माथिल्लो भाग(टुप्पा)बाट पात झर्ने र फलफुलमा समेत लाग्ने भएकाले फल फ्रोस्रो हुने समस्या आउने किसान बताउछन् । उत्पादन कम हुदै जाने र अन्तिममा बोटनै सुक्ने समस्या उक्त रोगले ल्याउने भएकाले समयमै सचेत हुन कृषि प्राविधिकको सुझाव छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई सिन्धुलीका प्रमुख देवराज अधिकारीले सिट्रस ग्रिनिङ नियन्त्रणको कुनै औषधि नभएकाले तत्काल रोग देखा परेको बोट काटेर नष्ट गर्नुपर्ने बताउनु हुन्छ । उक्त रोग सिट्रस सिल्ला नामक किराको प्रकोपका कारण लाग्ने उहाँले बताउनु भयो । “अहिलेनै आत्तिनुपर्ने अवस्था होइन,” उहाँले भन्नु भयो, “समयमै सचेत भए यसको नियन्त्रण हुन्छ ।”

सिट्रस ग्रिनिङ रोगबाट बच्न विरुवामै सचेत हुनुपर्ने प्राविधिकहरु बताउछन् । जुनारको विरुवा लिदा १हजार १सय मिटर भन्दा बढी उचाईमा रहेको,रोग नलागेको प्रमाणित र जाली भित्र उत्पादन भएको नर्सरीबाट मात्रै लिन किसानलाई प्राविधिकको सुझाव छ । रोग लागेको शंका लागेमा पिसीआर गराउनुपर्ने र बगैचामा रोग देखिए नष्ट गरेमा अन्यन्त्र रोग सर्ने संम्भावना कम हुने कृषि ज्ञान केन्द्र प्रमुख सुजन अमागाईले बताउनु भयो ।

जुनार क्षेत्र अन्र्तगत सिन्धुलीको भदौरे तल्लो आहाले लगायतका क्षेत्रमा यो प्रकोप देखिएको छ । जुनार तथा सुन्तलाजात फलफुलको औसा किरा व्यवस्थापनका लागि क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्र्तगत प्रोटिनबेट छरेर जुनारको फलमा लाग्ने औषा किरा व्यवस्थापन गरिरहेका किसानलाई सिट्रस ग्रिनिङ नियन्त्रण चुनौती बनेको छ ।

परियोजना प्रमुख अधिकारीका अनुसार रोग लुकाएर राखेमा धेरै फैलने र जुनार सखाप हुने भएकाले सबैले सचेत भएर नियन्त्रणमा जुटे यो रोग नियन्त्रणमा आउन सक्छ । ५० प्रतिशत किसानको रकम र बाँकी ५० प्रतिशत नेपाल सरकारको अनुदानमा प्रोटिनबेट खरिद गरि जुनार बगैचामा स्प्रे गरेसँगै चाइनिज सिट्रस फ्लाई ब्याक्टोसेरा मिन्याक्सलाई नियन्त्रण हुदै आएको छ । किसानले उत्पादन गरेको जुनार सिन्धुली सदरमुकाम भन्दा बढी विपी राजमार्गमै विक्रि हुदै आएको छ । विपी राजमार्गका विभिन्न ठाँउमा गरि एक सय भन्दा बढी जुनार व्यापारी रोडमा बसेर विक्रि गरेका छन् । सिन्धुलीका नौओटै स्थानिय तहमा जुनार खेतीका लागि उचित मौसम रहेपनि यहाँको जलकन्या तिनकन्या बाशेश्वर मझुवा वितिजोर भुवनेश्वरी लगायतका क्षेत्रमा जुनारको व्यवसायीक खेती हुदै आएको छ ।

प्रतिक्रिया