सिन्धुली– गत मंसिर ८ गते तिनपाटन गाउँपालिका ३ कोटगाउँका १५ वर्षिय कपिल श्रेष्ठ घर नजिकैको गोठमा झुण्डिएकोे अवस्थामा फेला परे । गोठको धुरीमा नाइलोनको डोरी लगाई झुण्डि मृत्यु भइसकेको अवस्थामा उनको परिवारले भेटे । गत मंसिर ९ गते कमलामाई नगरपालिका ५ जरायोटारकी ३० वर्षिय गिता विश्वकर्मा आफु सुत्ने काठोमै झुण्डिएको अवस्थामा फेला परिन् । नाम्लोको डोरी घाटीमा पासो लगाइ झुण्डिएको अवस्थामा विश्वकर्माको परिवारले फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जिल्लामा पछिल्लो समय आत्महत्याका घटना धेरै हुने गरेका छन् । प्रहरीका अनुसार मंसिर १ गते देखि २१ गते सम्म १३ जनाले झुण्डि आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बेरोजगारी, व्यवसायमा असफलता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्याका कारण पनि आत्महत्याका घटना बढ्दै गएको बताउनुभयो । ‘बढ्दै गएको शहरीकरणसँगै महत्वकांक्षा पनि थपिँदै जाने तर महत्वकांक्षा पुरा नहुने, व्यवसायमा असफलता, श्रीमान÷श्रीमती विचको झगडा लगायतका कारण पनि आत्महत्याका घटना बढेका छन् ।’ उहाँले भन्नुभयो ।
साथै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबी लगायतले गर्दा आत्महत्या बढिरहेको डिएसपि लामाले बताउनुभयो । ‘प्रेममा असफलताका कारण खासगरी युवाहरूमा एक्लै वा युगल आत्महत्याका घटना पनि भइरहेका छन् । प्रेमका कारण आत्महत्या गर्नेमा दुईवटा प्रकारका घट्ना छन् । पहिलो, घरमा श्रीमती या श्रीमान् हुँदाहुँदै भएका विवाहइत्तर सम्बन्ध । दोश्रो, प्रेममा परेका तर विभिन्न कारणले विवाह हुन नसकेका । जस्तै– जातपात, आर्थिक हैसियत नमिल्दा प्रेममा जोडिएकाहरूको सम्बन्धले विवाहको रूप धारण गर्न सक्दैन । र, उनीहरू आफूहरूको प्रेम अस्वीकार गर्ने समाजलाई आफैँलाई समाप्त पारेर दण्डित गरिरहेका छन् ।’, उहाँले भन्नुभयो ।
सिन्धुली जिल्लामा मात्र नभइ देशभर नै आत्महत्या अहिलेको मुख्य समस्या बन्दै गरेको उहाँको भनाइ छ । साथै, आत्महत्याका घटनाहरु बढ्दै गएपछि प्रहरीले आत्महत्या बढ्नुका कारण र न्यूनीकरणबारे सुक्ष्म अनुसन्धान गरिरहेको डिएसपि लामाले जानकारी दिनुभयो । ‘जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ, यसले समाज डरलाग्दो अवस्थामा जांदै छ भन्ने अवस्थाको चित्रण गरेको छ । त्यसैले पनि बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।’ उहाँले भन्नुभयो । आत्महत्या गर्नेहरु धेरै युवाअवस्थाका व्यक्तिहरु रहेको लामाले बताउनुभयो ।
शरीरमा थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरुप्रति वितृष्णा हुने जस्ता किसिमका लक्षण देखिए चिकित्सकहरुसँग परामर्श गर्नुपर्ने मनो चिकित्सकहरुले सुझाव दिएका छन्् । पछिल्लो समय किशोर किशोरीले समेत आत्महत्या गर्नुको कारण पहिचान गरी विद्यालय स्तरबाटै जिवनको महत्व बुझाउँदै सचेतना जगाउने र आत्मबल बढाउने खालका कार्यक्रम गर्न जरूरी रहेको उनीहरुको भनाइ छ । के कारणले मानिस आत्महत्या तर्फ उन्मुख हुने गरेका छन्, ती कारणहरुको पहिचान गरी निराकरण गर्न जरूरी रहेको मनोचिकित्सक बताउँछन् । विभिन्न प्रविधिको विकाससँगै मानिसहरु एक्लै बस्ने, अभिभावकहरुको व्यस्तता, लागूपदार्थको सेवन, पढाईमा असफलता, परिवारिक असहयोग, सामाजिक बहिस्करण जस्ता कारण पनि मानिसले आत्महत्या गर्ने पाईएकोले हरेक व्यक्तिसँग परिवार र समाजलाई जोड्नपर्ने उनीहरुको सुझाव छ ।