शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

घण्टौँ हिँडेर विद्यालय जानुपर्ने कष्ट हट्दै, विद्यार्थीमा आलस्यपन हट्यो

सोमवार , मंसिर २०, २०७८

सिन्धुली– पछिल्लो समय सिन्धुलीका निजी विद्यालयले स्कुल बस संचालनमा ल्याएपछि घण्टौँ हिँडेर विद्यालय जानुुपर्ने बाध्यता हट्दै गएको छ । जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा रहेका अधिकाँश निजि विद्यालयले स्कुल बस संचालनमा ल्याएका छन् । केहि वर्षअघिसम्म आफ्ना बालबालिकालाई विद्यालय पुर्‍याउन अभिभावकलाई सास्ती हुने गरेको थियो । विद्यार्थीहरु घण्टौँसम्म हिँडेर विद्यालय पुग्दा आलस्य भएर पठनपाठन प्रभावित हुने गरेको शिक्षक संजिव श्रेष्ठले सम्झिनुभयो । विद्यालयहरुले बसको व्यवस्था गरेपछि विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । “समयमा नै विद्यालय आइपुग्छन्, अनुशासनमा वृद्धि भएको छ,” उहाँले भन्नुभयो, “एक घन्टाभन्दा बढी पैदल हिँडेर आउँदा विद्यार्थी थाक्थे, बसमा आउन थालेपछि पढाइमा पनि रुचि बढेको पाइएको छ ।”

कमलामाई नगरपालिका ५, सिलामेका रघुविर मगरले विद्यालय पुग्न विद्यार्थीले खेप्नुपरेको कष्टपुर्ण दिनहरुको स्मरण गर्दै अहिले स्कुल बसका कारण गाउँका बालबालिकालाई विद्यालय जान सहज भएको बताउनुहुन्छ । उहाँको दुई छोराहरु साइनिङमुन विद्यालयमा अध्ययनरत छन् । स्कुल बस घर छेवैको सडकमा आउन थालेपछि बालबालिकाहरु नियमित विद्यालय जान थालेको उहाँ बताउनुहुन्छ । “विगतमा विद्यालय पुग्नै झण्डै एक घण्टा समय लाग्थ्यो । हिँडेर जानुपर्ने हुँदा बालबालिकाहरु थाक्ने गर्थे । घर आएपछि पनि थकानका कारण नपढि सुत्ने गर्दथे ”, उहाँले भन्नुभयो, “अहिले गाउँका सबै विद्यार्थीहरु नियमित विद्यालय जान्छन् । विद्यार्थीमा आलस्यपन हटेको छ ।” अभिभावकहरु अब आफ्ना बालबालिकालाई स्कुल पठाउने झन्झटबाट मुक्त भएको उहाँले बताउनुभयो ।

त्यस्तै, कमलामाई नगरपालिका ८, करकरेका गणेश मगरले विद्यालयहरुले स्कुल बसको सुविधा थप गरेपछि आफूहरु ढुक्क भएको बताउनुभयो । विगतमा बालबालिकाहरु विद्यालय जान सार्वजनिक यातायात चढ्नुपर्ने बाध्यता रहेको बताउँदै मगरले भन्नुभयो, “सार्वजनिक यातायातमा सिट पाउनै मुश्किल हुन्थ्यो । पाइहालेपनि बालबालिकाहरु सुरक्षित तरिकाले विद्यालय नपुग्लान् भन्ने चिन्ता भइरहन्थ्यो । अहिले भने स्कुलको बसमा बालबालिकाहरु चढेपछि ढुक्क लाग्छ ।” कहिलेकाँही सार्वजनिक बस नआउँदा विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित हुने गरेको मगरले बताउनुभयो । उहाँको छोरी अहिले सिद्धस्थली अंग्रेजि आवासिय उच माध्यमिक विद्यालयमा पढिरहेका छन् ।

भगवति अंग्रेजि आवासिय उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिल श्रेष्ठले घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गर्नुभयो । चारवटा वडा पार गर्दै विद्यालय आउनुपर्दा विरक्त लाग्ने गरेको उहाँले बताउनुभयो । सार्वजनिक यातायात चढ्दै विद्यालयसम्म आउदा दिनमै दुईसय बढि खर्च हुने गरेको उहाँले सम्झिनुभयो । उहाँले भन्नुभयो, “अहिले भने विद्यालयले स्कुल बसको सुविधा राखेपछि विद्यालयसम्म आइपुग्न सहज र खर्चपनि कम हुने गरेको छ ।”

यता, जिल्लाका सामुदायिक विद्यालयले पनि स्कुल बस संचालन गर्नुपर्ने अभिभावक सिर्जना बाँनियाले बताउनुभयो । उहाँले भन्नुभयो, “हुनेखानेले निजि विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्छन् । निजि विद्यालयले धमाधम स्कुल बस संचालन गरेका छन् । सामुदायिक विद्यालयमा स्कुल बस नहुँदा अहिले पनि विद्यार्थीहरु घण्टौँ हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ ।” स्थानिय सरकारले सामुदायिक विद्यालयमा स्कुल बस संचालन गर्न पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

जिल्लाको सुनकोशि गाउँपालिकाले विद्यार्थीहरुको सहजताकालागि स्कुल बस संचालन गर्न सहयोग गरेको छ । तर, अधिकाँश स्थानिय तहमा भने स्कुल बसको सुविधा छैन ।

प्रतिक्रिया