स्थानिय तह, प्रदेश र केन्द्र सरकारको कार्यकाल सकिन अब केहि महिना मात्र बाँकी छ । देश अहिले चुनावि माहोलमा गइसकेको छ ।नेकपा एमाले र राष्ट्रिय प्रजातान्त्रिक पार्टीले महाधिवेशन सम्पन्न गरिसकेको छ भने कांग्रेस र माओवादि केन्द्रको महाधिवेशनका कार्यक्रमहरु संचालनभइरहेको छ । माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले केहि समयअघि मात्रै महाधिवेशनको नाममा चुनावको तयारी भइरहेको बताउनुभएको थियो । दलहरुले आगामी चुनावकालागि टोल देखि केन्द्रसम्म कमिटि गठन गरिरहेका छन् । सबल र जनताले रुचाएका प्रतिनिधिहरुलाई कमिटिमा ल्याउन नेतृत्वले जोडबल गरिरहेका छन् । यता, आगामी चुनावलाई लक्षित गरेर जनप्रतिनिधिले कार्यकर्ता पोस्न राज्यको ढुकुटि रित्याउन सक्ने भन्दै नागरिक समाज लगायत सरोकारवाला निकायहरुले शंका गरेको अवस्था छ । अबको केहि महिना जनप्रतिनिधिकालागि संवेदनशिल कार्यकाल हुनेदेखिन्छ । किनभने, आफ्नो राजनितिलाई सबल बनाउनका लागि जनप्रतिनिधिले आफूखुशि राज्यको ढुकुटि प्रयोग गर्ने गरेको विगतका घट्नाहरुले देखाउँछ ।
सिन्धुलीमा पनि आगामी चुनावलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु संचालनमा ल्याईएको छ । जनप्रतिनिधिहरु कार्यालयमा भन्दा पनि पार्टीको काममा व्यस्त हुने गरेको पछिल्लो गतिविधिले देखाउँछ । जिल्लामा रहेका नौँवटै स्थानिय तहमा राजनैतिक दलको सक्रियता बढेको छ । दलको काममा राज्यको ढुकुटि रितिनु गलत हो । जिल्लाका स्थानिय सरकारले कार्यकर्तामुखि कार्यक्रम ल्याएर आगामी चुनावकालागि पुर्वतयारी गर्न सक्ने हुँदा सरोकारवाला निकायले खबरदारि गर्न आवश्यक छ । अतःजनप्रतिनिधिको कार्यकाल अझैँ केहि महिना बाँकी रहेको हुँदा सम्पूर्ण कार्यकाल नागरिकप्रति समर्पित गर्नतर्फ जोड दिनुपछ