शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा लोप हुँदै बालान नाच,(हेर्नुस भिडियो)

बिहिवार , मंसिर १६, २०७८

सिन्धुली – जिल्लाको ग्रमिण क्षेत्रका गाउँघरहरुमा परम्परागत रुपमा नाचिने गरेको सांस्कृतिक बालन नाच हिजोआज लोप हुँदै गएको छ ।

यस क्षेत्रमा बसोबास गर्ने ब्राह्मण तथा क्षेत्री समुदायले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, व्रतबन्धमा परम्परागत रुपमा नृत्य गर्दै आएका सांस्कृतिक बालन नाच हिजोआज गाउँघरका नयाँ पुस्ताले नाच्न छाडेपछि लोप हुँदै गएको हो ।

विगतका दिनहरुमा जिल्लाका विभिन्न ग्रामिण क्षेत्रलगायत क्षेत्री, ब्राह्मणको बाक्लो बसोबास रहेका गाउँघरमा धार्मिक तथा सांस्कृतिक चाडपर्व तथा विवाह व्रतबन्धमा बालान नाच प्रदर्शन हुने गरेको भए पनि पछिल्लो समय यसको प्रचलन नै हराउन थालेको छ । यो नाचको संरक्षण हुन नसक्दा लोप हुँदै जान थालेको छ ।

अन्य बाह्य गीत, संगीत र संस्कृतिहरुमा अहिलेका युवा पुस्ता रमाउन थालेका र यो नाचको संरक्षणमा युवा पुस्ताले उचित ध्यान नदिँदा संकटमा परेर लोप हुन थालेकामा जिल्लाका ग्रमिण क्षेत्रका बूढापाकाहरु निकै चिन्तित बन्न थालेका छन् । कलामाई नगरपालिका–३ चपौलिका ८६ वर्षीय पद्यनाथ देबकोटाले भन्नुभयो, “हिजो आफूहरुको पालामा बाजेपुर्खाहरुले परम्परागत रुपमा प्रस्तुत गर्दै आउनुभएका बालन नाचलाई निरन्तरता दिएर बचाउँदै आयौँ तर हिजोआज आफूहरु पनि बूढापाका भइयो, अहिलेका पुस्ताले बालन नाच चटक्कै भुलेका कारण यो नाच संकटमा परेर लोप हुने खतरा बढ्यो ।”

बाजेपुर्खाको पालादेखि नै प्रचलनमा रहेको प्रख्यात बालान नृत्य हिजोआज दिनानु्दिन लोप हुन थालेर यसको अस्तित्व नै संकटमा परेकामा उहाँले निकै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आफूहरुको पालामा गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा होस् या विवाह, पास्नी, व्रतबन्ध, मंसिरे पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वहरुमा रात्रिको समयमा रातभरि बालन नृत्य गर्ने गरेका थियौँ, यस्तो कार्यले बाजेपुर्खाको पालादेखि निरन्तरता पाउँदै आएको यो सांस्कृतिक नाचको संरक्षणमा ठूलो योगदान पुगेको थियो ।” हिजोआज यस्ता पर्वहरुमा अन्य–अन्य नृत्य हुन्छ, हिन्दी अंग्रेजी गीतहरु गुञ्जन्छन्, अहिलेका पुस्ताहरु यसैमा रमाउँदा परम्परागत बालान नाच लोप हुँदै गएको उहाँको भनाइ छ ।

ब्राह्मण र क्षेत्री समुदायको बाक्लो उपस्थिति रहेका ती क्षेत्रमा हुने धार्मिक र साँस्कृतिक महोत्सव र चाडपर्वमा यो नाचको केहि बर्ष अघिसम्मे आयोजना हुँदै आएको थियो तर हिजोआज यो नाच देख्न र सुन्न छाडिएको राउतले बताउनुभयो ।

विगतमा बालान नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर यसैको कथावस्तुलाई गीत बनाएर पुरुषहरु संयुक्त रुपमा भेला भएर दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको थियो । “विगतमा बालान नृत्यको रौनक बेग्लै हुन्थ्यो, हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण हाम्रो मोलिक साँस्कृतिक बालन नृत्यको प्रचलन नै हराउन थालेको छ”, दुधौली नगरपालिका–१ का ९३ वर्षीय गुणराज बरालले भन्नुभयो ।

“बालान नाच हिजो हाम्रा बाजे पुर्खाले हरेक चाडपर्व तथा सांस्कृतिक कार्यमा अनिवार्य रुपमा नृत्य गर्ने गरेकाले यसको संरक्षण भएको थियो”, उहाँले भन्नुभयो, “अहिलेका पिँढीले पश्चिमी, हिन्दी र डिस्को नृत्यमा रमाउँछन्, आफ्नो मौलिक संस्कृतिको उपेक्षा गरेका कारण यो नृत्य संकटमा पर्न थालेको छ ।”

विगतमा जिल्लाको ग्रामिण क्षेत्रका विभिन्न गाउँघरमा छरिएर बसोबास गर्दै आएका क्षेत्री र ब्राह्मण समुदायले नाच्ने गरेको लोकप्रिय सांस्कृतिक नृत्य बालन हिजोआज संरक्षणको अभावमा संकटमा पर्दै गएकाले ती समुदायका बूढापाका चिन्तित भएका छन् ।

प्रतिक्रिया