सिन्धुली लगायत देशभर अहिले राजनैतिक दलको चहलपहल बढेको छ । भर्खरै मात्र नेकपा एमालेको १० औँ महाधिवेशन सम्पन्न भएको छ भने नेपाली कांग्रेसको १४ औँ महाधिवेशन टुंगिएको छैन । त्यस्तै, राष्ट्रिय प्रजातान्त्रिक पार्टीको महाधिवेशन बुधबारबाट शुरु भएको छ । दलहरुको महाधिवेशनकै दौरानमा बालबालिकाहरुलाई समेत प्रयोग गरेको देखिएको छ । उनीहरुलाई उम्मेदवारको प्रचारप्रसारकालागि प्रयोग गरिएको छ । ज्याला दिएर बालबालिकालाई राजनैतिक दलको झण्डा बोकाएको दृश्यले नेतृत्वको राजनैतिक चेत र संस्कारलाई झल्काउँछ । बालबालिकाको हित र अधिकार सुनिश्चितताकालागि लड्नु पर्ने दलले बालबालिकालार्य नै प्रयोग गरेर संगठन बलियो बनाउनु कदापि व्यवहारिक देखिदैँन । तसर्थ, बालबालिकालाई अनावश्यक प्रयोग गरेर आफ्नो स्वार्थपुर्ति गर्नतर्फ दलका सदस्य लाग्नुहुदैँन ।
सिन्धुलीमा अहिले महाधिवेशन र चुनावलाई केन्द्रविन्दुमा राखेर राजनैतिक दलले पार्टी प्रवेश कार्यक्रमलाई व्यापक बनाएको छ । आगामी स्थानिय, प्रदेश तथा केन्द्रिय सरकारको चुनावकालागि राजनैतिक दलले संगठन विस्तारलाई प्राथमिकता दिएका छन् । तर, दलले बालबालिकालाई समेत पार्टी प्रवेश गराइरहेका छन् । विद्यालयमा पुगेर संगठन विस्तार गर्ने विद्यार्थी संगठनका नेताहरुले उमेर कम भएका बालबालिकालाई समेत पार्टीमा आबद्ध गराइरहेका छन् । बालबालिकामा राजनैतिक चेत बढाउन खोज्ने दलले उनीहरुको अधिकार स्थापित गर्नतर्फ बढि केन्द्रित हुन आवश्यक छ । त्यसैगरि, बालबालिकालाई दलमा आबद्ध गराएर आफ्नो पार्टी ठूलो देखाउने लालचलाई नेताहरुले त्याग्न जरुरी छ । अतः बालबालिकालाई कुनै पनि राजनैतिक स्वार्थमा प्रयोग गर्नु गैरकानुुनि भएकाले त्यस्ता कार्य रोक्न दलहरु केन्द्रित हुनुपर्छ । त्यस्तै, बालबालिकाको नाममा खोलिएका संघसंस्थाले पनि दलसँग डराएर बालबालिकामाथि वृजारोपण भइरहेको अनावश्यक अराजनैतिक चेतप्रति सम्बन्धित दललाई खबरदारी गर्नतर्फ गम्भिर भएर लाग्न जरुरी छ ।