सिन्धुली लगायत देशभर अहिले कोरोना भाइरसको जोखिम घटेको भन्दै लापर्वाही गरिएको छ । भिडभाड बढिरहेको छ भने मास्क र स्यानिटाईजरको प्रयोग गर्नेको संख्या निकै कम छ । कोरोनाको दोश्रो लहरसँगै अहिले केहि देशमा तेश्रो भेरियन्ट देखिएको छ । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखापरेसँगै भारत लगायत नेपालसहित अन्य देशले सावधानि अपनाउन मापदण्ड तोकेका छन् । नयाँ भेरियन्ट डेल्टा भेरियन्ट भन्दा खतरनाक रहेको डाक्टरहरुले बताउदैँ आएका छन् । तर, नेपालमा भने न्युनतम सावधानि पनि नअपनाएको अवस्था छ । राजनैतिक दल देखि सर्वसाधरणले कोरोना भाइरसलाई सामान्य रुपमा लिएका छन् । बजार क्षेत्रमा मास्क प्रयोग गर्नेको संख्या न्युनतम छ । सरकारी कार्यालय देखि बजार क्षेत्रमा स्वास्थ्य सावधानि अपनाइएको छैन । तसर्थ, सरकारले तेश्रो भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै पुर्ण स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन विगतमा जस्तै तिव्र रुपमा अभियान संचालन गर्न आवश्यक छ ।
सिन्धुलीमा कोरोना भाइरस सम्बन्धि कुनै पनि जनचेतनामुलक कार्यक्रमहरु अहिले संचालनमा आएका छैनन् । सिन्धुलीसँग नेपाल भारतको सिमा नजिक भएपनि जोखिमलाई बेवास्था गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतबाट तेश्रो भेरियन्ट भित्रन सक्ने भन्दै विज्ञहरुले सावधानि अपनाउन आग्रह गरिरहेका छन् । तर, नेपाल भारत सिमाको नजिक दुरीमा रहेको सिन्धुलीमा भने कुनै पनि सावधानि अपनाइएको छैन । सावधानि नअपनाए आगामी दिनमा सिन्धुलीमा कोरोनाको जोखिम बढ्ने निश्चित प्राय छ । तसर्थ, जिल्लाका सरोकारवाला निकायले यथाशिघ्र मास्क र स्यानिटाइजरको प्रयोग गराउन अभियान संचालन गर्न जरुरी छ । तेश्रो भेरियन्टको जोखिम बढिरहेको हुँदा जिम्मेवार निकायले सावधानि अपनाउनतर्फ गम्भिर भएर सोच्न आवश्यक छ ।