सिन्धुली– सिन्धुलीका १३ वर्षिया बालक महोत्तरीबाट पक्राउ परेका छन् । भारतबाट लागूऔषध लिएर नेपालतर्फ आउने क्रममा ती बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह.२९७८ नम्बरको अटो रिक्सालाई रोकेर चेकजाँच गर्ने क्रममा कमलामाई नगरपालिका–६ का बालकको साथबाट लागूऔषध बरामद भएको महोत्तरी प्रहरी कार्यालयका प्रबक्ता एवं नायव उपरिक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिनुभयो । औरही नगरपालिका–४ कठुधारमा अटो रिक्सा रोकेर चेकजाँच गर्ने क्रममा त्यसमा सवार १३ बर्षीय बालकको साथबाट लागूऔषध बरामद भएको विष्टले बताउनुभयो ।
बालकले कम्मरमा लगाएको बेल्टभित्र कालो प्लाष्टिकमा लुकाइ छिपाइ राखेको नाइट्रोभेट–१० लेखिएको ६० थान र स्पास्मो प्रोक्सिभोन १६ थान बरामद भएको उहाँले बताउनुभयो । लागूऔषधसहित फेला परेका बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।