शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

समाजसेवि थापा जसका कारण जिम्बाले खुट्टा र घर दुबै गुमाउनु परेन

शनिवार , कार्तिक २७, २०७८

सिन्धुली– दशैँको समयमा सिन्धुलीको मरिण गाउँपालिका २ का धनजित जिम्बाको घरमा आगलागी हुँदा उहाँको घरमात्रै नभई १६ प्रतिशत भन्दा बढि शरिरका भागहरु पनि जले । जिम्बालाई आफन्त तथा छरछिमेकले जसोतसो जिल्ला अस्पतालमा उपचार पश्चात् काठमाडौँको किर्तिपुर अस्पताल त लगे तर आर्थिक अवस्थाका कारण थप उपचार नहुने भयो ।

चिकित्सकले समयमै शल्यक्रिया नगरे जिम्बाको खुट्टा काट्नुपर्ने बताइरहेका थिए । अग्निपिडित जिम्बाको आफन्तले अस्पतालमा १५ हजार रुपैँया डिपोजिट त गरेका थिए, तर उक्त रकम शल्यक्रियाकालागि अपुग थियो । जलन पिडितको उपचार सहयोगकालागि झण्डै पाँच वर्ष भन्दा बढि समयदेखि लागिरहुनभएको समाजसेवि उज्जवल विक्रम थापाले उक्त घट्नाको जानकारी अस्पतालबाटै पाउनुभयो । जलन पिडितको घाउँमा मलम लगाउन यसअघि पनि दर्जनौँ पटक थापा किर्तिपुर अस्पताल पुग्नुभएको थियो । अस्पतालले सिन्धुलीका जिम्बाको अवस्थाका बारेमा थापालाई जानकारी गरायो ।

थापाले उक्त खबर पाएपछि अस्पताल पुगि सहयोग गर्न तत्काल २५ हजार रुपैँया दिन खोज्नुभयो । तर, अग्नि पिडित जिम्बाले उक्त रकम लिन मान्नुभएन । बरु खुट्टै काट्छु भन्दै पैसा लिन इन्कार गर्नुभयो । जिम्बाले ऋण तिर्न नसक्ने बरु उक्त रकमले आफूले जलेको घरमा छानो हाल्ने बताउनुभयो । थापाले उक्त पैसा ऋण नभएको र पैसा फिर्ता नगर्नुपर्ने भनेपछि जसोतसो जिम्बा उपचारकालागि तयार हुनुभयो । उहाँको उपचारमा ५० हजार रुपैँया खर्च भएको अस्पतालले बताएको छ । उपचारपछि उहाँ घर फर्किसक्नुभयो ।

समाजसेवि थापालाई जिम्बाको घाउँमा मात्र नभएर मनको घाउँमा पनि मलम लगाउनु थियो । त्यसैले उहाँ एकदिनका लागि भनेर काठमाडौँबाट सिन्धुली आउनुभयो । जिम्बाले घरको छानो हाल्न सकेनन् र चिन्तामा होलान् भन्दै शुक्रबार थापा मरिणतर्फ हुइकिनुभयो । थापाले जे सोच्नुभएको थियो, त्यहि दृश्य देख्नुभयो । जिम्बाको शरिरको जलन त निको भइरहेको थियो तर मनमा भने आगो बलिरहेको थापाले देख्नुभयो । तत्कालै उहाँले जिम्बाको घरको छानो हाल्नकालागि झण्डै ४२ हजार रुपैँया बराबरको जस्ता सहयोग गर्नुभयो । थापा पुग्नुअघि निराश मुद्रामा देखिनुभएका जिम्बा घरको छानो रंगिएपछि खुशि देखिनुभयो । उहाँको चुम्रिएका गालाहरु हाँसोमा देखियो । ‘थापाको सहयोगले गर्दा आज मैले मेरो खुट्टा र घर, दुवै गुमाउनुपरेन । उहाँको निस्वार्थी सहयोग देख्दा साक्षत भगवान मेरो घरमा आएको जस्तो अनुभव भयो’, जिम्बाले बताउनुभयो ।

प्रतिक्रिया