सिन्धुली – कमलामाई नगरपालिकाका ल्यण्डफिल्ड साईड प्रभावितहरुले नगर प्रमुख खड्गबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नगरपालिकाले उचित ढंगले फोहोर मैला व्यवस्थापन नगर्दा स्थानीयको स्वास्थ्य र वातावरणमा समेत गम्भीर असर परेको भन्दै स्थानीय पिडितहरु सोमबार १५ बुँदे माग सहित नगर प्रमुख खत्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।
विगत लामो समयदेखि कमलामाई नगरपालिकाको फोहोर मैला व्यवस्थापन कार्य कमलामाई नगरपालिका वडा नम्बर ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा हुँदै आएको छ । वन समुहको क्वान्द्रे खोल्सीमा डम्पीङ निर्माण गर्ने भनिएपनि झुक्याएर बस्ति नजिकै रहेको क्वान्द्रेको शिरमै ल्याण्ड फिल्ड साइड निर्माण गर्दा यहाँको वातावरण र नागरिकहरुको स्वास्थ्यमा गम्भाीर असर पर्दै गएका कारण उचित समाधानको माग सहित नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको उक्त वन समुहका अध्यक्ष अक्कल बहादुर रानाले बताउनुभयो ।
रानाका अनुसार नगरपालिकाले डम्पिङ्ग साइड निर्माण गर्दा कालिका वन समुह क्षेत्र भित्रको क्वान्द्रे खोल्सी पुच्छरमा निर्माण गर्नु पर्ने भएपनि झुक्याएर क्वान्द्रे खोल्सी शिरमा बनाएरकोले हाल भएको स्थानबाट डम्पीङ्ग साइड हटाउनु पर्ने, डम्पिङ्ग साइड निर्माणका क्रममा यस समुहमा कुनै पनि छलफल नभई कुनै पनि सहमति विना यस वन समुहको ठुलो क्षेत्रफल पडानी गरि भौतिक पूर्वाधार निर्माण गरिएको र घेराबेरा समेत गरेर क्षेती पुर्याएका कारण क्षेतीको मुल्यांकन गरी नगरपालिकाबाट क्षेतीपूर्ती उपलब्ध हुनुपर्ने, यस समुहसंग ल्याण्ड फिल्ड निर्माणका लागि १५ वर्षसम्म जग्गा उपलब्ध गराउने मौखिक सहमति भएको भन्ने गरिएको भएपनि त्यसको समेत समयावधि सकिएकोले विना सर्त हटाउनु पर्ने लगायतका माग छन् ।
यस्तै सडकको दायँ बायाँ तथा जंगलको विचमा समेत जथाभावि फोहोर तथा शिसाका टुक्रा, सिनोहरु प्याक्ने गर्दा खानेपानी, बन्यजन्तु तथा बनस्पतीहरुमा समेत असर पर्ने गरेको र ल्याण्ड फिल्ड साइडमा प्रयोग गरेको केमिकलका कारण निस्कने दुषीत पानीका कारण खानेपानीका मुहानहरु दुषी हुँदा घरपालुवा पशु चौपाय तथा बन्यजन्तुहरु मारमा परेकाले त्यसको उचित व्यवस्थापन गर्नु पर्ने माग गरिएको छ ।
फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम गर्ने सरसफाई कर्मचारीहरु ल्याण्डफिल्ड प्रभावित क्षेत्रबाट राख्ने सर्त भएपनि नराखिएको, ल्याण्ड फिल्ड प्रभावित क्षेत्रका नागरिकहरुको समेत स्वास्थ्य विमा गर्नुपर्ने, त्यस क्षेत्रमा खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारको अवसर सिर्जना गर्नु पर्ने लगायतको मागत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
फोहोर मैला सरसफाईमा काम गर्ने कर्मचारीहरुको जिवन विमा गर्नु पर्ने र स्थानीय टोल विकास संस्था संचालन कार्यविधि २०७६ पूर्ण रुपमा कार्यान्वयन हुनु पर्ने समेत जोडदार माग गरिएको तल्लो रानिखोला टोल विकास संस्थाका अध्यक्ष यज्ञ बहादुर थापाको भनाई छ ।
डम्पीङ्ग साइडमा जलाईएको फोहोरको धुवा र धुलो यस क्षेत्रका बासिन्दाको खानेपानीको मुहान देखि उडेर घरघरमा पुग्ने हुँदा खानेपानीको मुहान देखि पकाएर राखेका खानेकुराहरुमा समेत त्यसको असर पर्ने गरेको छ ।
यहाँका नागरिकहरुले यस अघि विभिन्न समयमा ल्याण्डफिल्ड साइडलाई व्यवस्थित गर्न या त्यस क्षेत्रबाट ल्याण्ड फिल्ड साइड हटाउन पटक पटक आग्रह गर्दा समेत अटेर गरिएपछि ज्ञापनपत्र बुझाएको वातावरण संरक्षण समितिका अध्यक्ष कृष्ण कार्कीको भनाई छ ।
आफ्ना मागहरु एक साता भित्र सम्बोधन नगरि वेवास्था गरिएमा ल्याण्डफिल्ड साइड नै बन्द गर्नेगरी चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ । यता पिडितहरुको ज्ञापन पत्र बुझ्दै नगरपालिकाले तत्काल समाधानका लागि आवश्यक पहल गर्ने नगर प्रमुख खड्गबहादुर खत्रीले बताउनुभयो । ल्याण्ड फिल्डका कारण ग्वाङखोला पुलदेखि ल्याण्ड फिल्ड जाने बाटोको दायाबाँयाको बस्ति क्षेत्रहरुमध्ये खासगरी नयाँबस्ती, मधुटार, रानिखोला, जरायोटार, ढाक्रेबास, कारागार, कालिकाटार, पन्चकन्या टोल लगायतका क्षेत्रका नागरिकहरु प्रतक्ष प्रभावित बनेका छन् ।
कालिका वन समुह, वातावरण संरक्षण समिति, कमला सामुदायि वन उपभोक्ता समुह, पन्चदेवि टोल विकास संस्था, कमला टोल विकास संस्था, कालिका टोल विकास संस्था, ताल्लो रानिखोला टोल विकास संस्था, दक्षिणकालि बहुउद्देस्य टोल विकास संस्था लगायतका संघसंस्था प्रमुख तथा प्रतिनीधिहरुले सयुक्त ज्ञापन पत्र बुझाएका थिए ।


