शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हराउन थाले मौलिक देउसी भैलो

आइतवार , कार्तिक २१, २०७८

सिन्धुली – तिहारमा खेलिने देउसी भैलो फेरिँदै गएको छ । सुनकोशी गाउँपालिका ५ की ९२ वर्षिय लिला मायाँ थापालाई अहिलेको देउसीभैलो मन पर्दैन । भैलो भट्याउनेसँग आशिषे ज्ञान नहुँदा र डिजेमा र्‍याप गित लगाएर नाच्ने संस्कृति विस्तार हुँदै जाँदा देउसी भैलोको रौनकतामा परिवर्तन आएको छ । देउसी भैलोमा तोकेर पैसा माग्ने, मदिरा सेवन गरेर अश्लिल गीतमा नाच्नेजस्ता विकृति फैलिएको भन्दै उहाँले गुनासो गर्नुभयो ।

“भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम । हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँसीको बार गाईतिहार भैलो । हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँसीको बार गाईतिहार भैलीराम ।” यी गीत गाएर गाउँभरि देउसीभैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको थापा बताउनुहुन्छ । सूचना प्रविधिको विकास, आशिषे ज्ञान नहुँदा र डिजेमा र्‍याप गितको प्रभावले गर्दा परम्परागतरूपमा भट्याउँदै देउसी र भैलो खेल्ने चलन यतिबेला परिर्वतन नै भएको छ । आधुनिकताको नाउँमा देउसी–भैलोको मौलिक संस्कृति नै विकृत बन्दै गएको कमलामाई नगरपालिका ४ की विनिता बुढाथोलीले बताउनुभयो । “संस्कृति संरक्षण सँगसँगै समाज कल्याणको उद्देश्यले खेलिने देउसी–भैलो अहिले नितान्त अर्थमुखी र बेथितिपूर्ण बन्दै गएको छ । देउसी–भैलोको परम्परागत लय र भाकालाई आधुनिक गीत–संगीतले खर्लप्पै निलेको छ । देउसी–भैलोको आफ्नै मौलिक भाका छ । हाहुमै खेलिन्छ देउसी–भैलो अहिले । देउसी–भैलोलाई सजिलै हाहुमा खेल्न सकिने बनाइदिएको छ आधुनिक प्रविधि र आधुनिक गीत–संगीतले ,” उहाँले भन्नुभयो ।

फाट्टफुट्ट रूपमा अहिलेको देउसीभैलोमा विभिन्न ठाउँमा हिन्दी र अंग्रेजी गीतले स्थान ओगट्न थालेको छ । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ । केहीले देउसीभैलो संस्कृतिलाई रमाइलोका रूपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि । जे भए पनि देउसी र भैलो खेल्ने निहुँमा हिन्दी र अंग्रेजी गीतलाई स्थान दिन नहुने पनि धेरैको टिप्पणी छ ।

कला घर सिन्धुलीले भने यस वर्ष सामाजिक सन्देश प्रवाह गर्दै देउसीभैलो कार्यक्रम गरेको थियो । परम्परालाई धान्नका निम्ति हरेक चाडपर्वको महत्व देखाउने कार्यक्रमको आयोजना गदै आएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन आइडुले बताउनुभयो । “हामीले हरेक चाडपर्वको महत्व देखाउने खालको कार्यक्रम गदै आएका छौँ । चाडपर्वको महत्व खोज्ने र खोजेको कुरा रुपान्तरण गर्ने गरिरहेका छौँ । नेपाली कला सस्कृतिको विकास गर्नका लागि बाल्यकाल देखिनै पारिवारिक, शैक्षिक पाठयक्रममा संस्कृतिको विषय समेट्न आवश्यक छ ,” उहाँले भन्नुभयो । देउसिभलौ परम्पराइलाई जोगाउनका लागि कलाघर सिन्धुलीले बाग्लुङमा पनि कार्यक्रमको आयोजना गरेको आइडुले बताउनुभयो ।

राज्यस्तरबाटै युवा पुस्तालाई आफ्नै मौलिक संस्कृतिप्रति मोह जगाउने कार्ययोजना बनाई कार्यान्वयन गर्नसके संस्कृति संरक्षणमा ठूलो टेवा पुग्ने कमलामाई नगरपालिकाका ६ का सन्तोष रम्तेलले बताउनुभयो । देउसी–भैलोबाट सामाजिक सद्भाव बढोस् र सामाजिक कल्याणको काम पनि होस् भन्ने मनोकांक्षा राखेर यसलाई प्रवद्र्धन गर्न अब स्थानीयस्तरमै अभियान थाल्नु पर्ने उहाँको भनाइ छ । पौराणिक कथा अनुसार बलिराजाले घरघर पुगेर देउसी–भैलो खेल्न उर्दी गरेपछि तिहारमा यसको चलन शुरु भएको हो । लक्ष्मीपूजा गरेपछि महिलाहरु भैलमे खेल्न र गोवर्धन पूजा गरेपछि पुरुषहरु देउसी खेल्न हिँड्ने प्रचलन छ ।

प्रतिक्रिया