सिन्धुली – सिन्धुलीका नौ स्थानीय तहमध्ये ६ गाउँपालिकामा कोरोना संक्रमित शून्य भएको छ । जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र सुनकोशी गाउँपालिका बाहेका पालिकामा कोरोना संक्रमित शून्य भएको हो । तिनपाटन,मरिण, फिक्कल, गोलन्जोर, घ्याङ्लेख र हरिहरपुरगढी गाउँपालिकामा कोरोना संक्रमित सून्य भएको छ ।
हाल जिल्लाको कमलामाई नगरपालिकामा ३२ जना, दुधौली नगरपालिकामा ८ जना र सुनकोशी गाउँपालिकामा ३ जना कोरोना संक्रमित उपचारत रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि तिनपाटनमा २ सय २४ जना, फिक्कलमा ३ सय ५३ जना, गोलन्जोरमा ३ सय ४ जना,घ्याङ्लेखमा २ सय ७ जना, मरिणमा ४ सय ६६ जना र हरिहरपुरगढीमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै कोरोना संक्रमणको कारण कमलामाई नगरपालिकाका २० जना, दुधौली नगरपालिकाका ८ जना, तिनपाटन गाउँपालिकाका ३ जना, फिक्कल गाउँपालिकाका ५ जना, गोलन्जोर गाउँपालिकाका २ जना र मरिण गाउँपालिकाका ५ जना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा हालसम्ममा ३ हजार २ सय ४४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हाल ४३ जना सक्रिय संक्रमित उपचाररत होम आइसोलेसनमा उपचाररत रहेका छन् । ४५ जनाको कारोना भाईरस संक्रमणका कारण ज्यान गएको छ भने ३ हजार १ सय ६३ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ । जिल्लामा हाल सम्म ४ हजार ८ सय १४ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ भने ४ हजार ८९ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको छ ।
८३ हजार भन्दा बढीले पहिलो मात्रा खोप लगाए
सिन्धुलीमा ८३ हजार भन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका ८३ हजार ३ सय २२ जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । दुवै मात्रा लगाउनेको संख्या ३९ हजार ७ सय १८ रहेको छ ।
जिल्लामा विभिन्न चरणमा कोभिशिल्ड, भेरोसेल, जोन्सोन, एष्ट्राजेनेका खोप अभियान सञ्चालन हुँदै आएको छ । त्यसक्रममा ४५ वर्षमाथिका नागरिक, १८ वर्षमाथिका विद्यार्थी, व्यवसायी, पत्रकार, सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्राथमिकताका आधारमा खोप लगाइएको छ ।