सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिका २ का ४८ वर्षीय धनजित जिम्बाका लागि दशैं दशा बनेर आयो । नवमीको दिन उहाँको घर मात्र जलेन, उहाँको शरीर पनि जल्यो । दशैँको मासु सुकाउने क्रममा बोसो पग्लिएर दनदनी आगो बल्न थालेपछि उहाँ आगो निभाउन लाग्नुभयो । तर उहाँको दाँया खुट्टा नै नराम्ररी जल्यो । घर पनि खरानी भयो ।
त्यसपछि उहाँलाई मरिणको कपिलाकोट हेल्थ पोष्टमा उपचारकालागि ल्याइयो । कपिलाकोटमा उहाँको सामान्य स्वास्थ्य उपचार भयो । १६ प्रतिशत शरिर जलेको हुँदा उहाँलाई थप उपचार आवश्यक थियो । तर, जिम्बा अस्पताल जान खोजेनन् । आफूसँग पैसा नभएको र कर्जालिदा घर बनाउन नसकिने भन्दै पन्छिए । तर, जसोतसो जिम्बालाई सिन्धुली अस्पताल ल्याइयो । सिन्धुली अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गर्न जिम्बा आउनुभयो । चिकित्सकले अपरेशन गर्नुपर्ने बताएपछि उहाँको पीडामा थप पीडा थपियो ।
उहाँसँग पैसा थिएन । पैसाको अभावमा उहाँले ‘मल्हम दिनुस्, घरमै गएर दलेर उपचार गर्छु’ भन्दै डाक्टरलाई अनुनय विनय गर्नुभयो । उहाँ खुट्टा काट्न तयार हुनुभयो तर उपचार नगर्ने चिकित्सकहरुलाई बताउनु भयो ।
कीर्तिपुर अस्पतालमा समाजसेवि उज्जवल विक्रम थापा यसअघि पनि जलन भोगेका पिडितहरुको उपचारकालागि पुगिरहनु हुन्थ्यो । सिन्धुलीकै जलन भोगेका जिम्बा अस्पताल आएपछि अस्पतालले थापासँग सम्पर्क बढायो । जिम्बाको यो कारुणिक स्थितिबारेमा थापाले थाहा पाएलगत्तै तत्काल अस्पताल पुग्नुभयो ।
थापाले शरिर जलेका जिम्बालाई भेटेर उपचार गर्नुपर्छ भन्दै सम्झाउनुभयो । तर, जिम्बाले आफू उपचार नगर्ने भन्दै तर्किनुभयो । थापाले भन्नुभयो, ‘जिम्बालाई कर्जा लिनु थिएन । मैले उपचारमा सहयोग गर्छु भन्दा उनले उपचारको पैसा ऋण भन्ने बुझे ।’ डाक्टरले यथाशिघ्र अप्रेशन गर्नुपर्ने थापालाई बताइरहेका थिए । तर, जिम्बा तयार नभएपछि थापाले नयाँ जुक्ति निकाल्नुभयो । जिम्बाको उपचार सहयोगमा थापाको कुनै स्वार्थ थिएन । उहाँ सिर्फ जिम्बालाई उपचार गरेर घर पठाउन चाहिरहनुभएको थियो । त्यसपछि, थापाले सिन्धुलकिा फूल माया बम्जन र गोपी बम्जनलाई सम्पर्क गरेर जिम्बालाई सम्झाउन आग्रह गर्नुभयो । उनीहरुले जिम्बालाई सम्पर्क गरेर तामाङ भाषामा स्पष्टसँग पैसा फिर्ता नगर्नुपर्ने भनेर सम्झाए । त्यसपछि भने जिम्बा उपचारकालाागि तयार हुनुभयो ।
तत्काल अस्पतालमा थापाले २५ हजार रुपैयाँ तिरिदिनुभयो । जिम्बा अहिले झण्डै दुई हप्ताको उपचार पछि घर फर्किनुभएकोछ । ऋण गरेर उपचार नगर्ने सोंचमा जिम्बा हुनुहुनथियो । ऋण गरेर बालबच्चा कसरी पाल्नु अनि ऋण कसरी तिर्नु ? भन्दै उहाँ अस्पतालबाट मरिण नै जाने तर्खरमा हुनुहुनथियो ।
समाजसेवी थापाको सहयोगका कारण अहिले उहाँ अपरेशन पश्चात घर फर्कनुभएको छ । उपचारमा ढिलाई भएको भए जिम्बाको खुट्टा नै काट्नुपर्ने स्थिति रहेको चिकित्सकहरु बताउँछन् । अस्पतालका अनुसार जिम्बाको उपचारमा ५० हजार रुपैँया खर्च भएको छ ।
जिम्बाका परिवारल अस्पतालमा १५ हजार डिपोजिट गरेका थिए । उक्त रकम पनि थापाले जिम्बाको परिवारलाई फर्काइदिनुभएको छ । यस घट्नाबाट गरिबिले गर्दा मान्छेले ज्याननै फ्याल्न तयार रहेको थापाले महशुश गर्नुभयो । उहाँले प्रश्न गर्नुभयोे, ‘सिंहदरबार गाउँगाउँमा पुगेको छ । तर, जिम्बा जस्ता जलन योद्धाले कहिले सम्म पैसा नभएर उपचार हुन सक्ने खुट्टा काट्नुपर्ने बाध्यताको अन्त्य हुन्छ ?’
चाडबाडमा पनि बिरामीको हेरचाह गर्दै थापाः दशैं मनाउने शैली आआफ्नै छ । कोही मस्त खाएर जुवातासमा रमेका छन् त कोही गाउँघर पुगेका छन् । तर, समाजसेवी उज्वलविक्रम थापा भने दैनिकजसो अस्पताल पुगेर गरिब दुःखी बिरामीलाई आर्थिक सहयोग गरे, मानसिक हौसला प्रदान गर्दै आत्मबल बढाए । र, अहिले पनि उहाँ यहि यात्रामा लागिरहनुभएको छ ।
अरुबेला पनि हरेकजसो दिन अस्पतालमा बिरामीहरुको सेवामा बिताउने थापा दशैंमा पनि त्यो कदमलाई कुनै कमी आउन दिनुभएन । विशेषगरी थापाले सन् २०१५ देखि जलनका विरामीको सेवा गर्दै आउनु भएको छ । अहिले पनि एसिड आक्रमणमा परेका विरामीको होस वा अग्निपीडित, तीनै बिरामीको सेवाका लागि थापा खटिरहनुभएको छ । समाजसेवि थापा बिरामीका लागि दरिलो पिल्लर बनेर उभिने गर्नुभएको छ । उपचारका लागि पैसा सहयोग गरेर पीडामा मल्हम लगाउन थापा खटिरहनुभएको छ ।