शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

२०७८ साल कात्तिक ०३ गते बुधबारको राशिफल र मौसम

बुधवार , कार्तिक ३, २०७८

वि.सं.२०७८ साल कार्तिक ०३ गते बुधबार । ईश्वी सन् २०२१ अक्टोबर २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– पूर्णिमा,बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–रेवती, दिउसो २ बजेर ३३ मिनेट उप्रान्त अश्विनी । योग– हर्षण, बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त बज्र । करण–भद्रा, बिहान ०७ बजेर ११ मिनेट उप्रान्त बव, बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त बालव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन, दिउसो २ बजेर ३३ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २८ घडी २३ पला । पूर्णिमाव्रत,योसिमतवियगुँ,आकाशदीपदानारम्भ,कतिस्पुन्हि कात्तिकस्नान ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। यात्राकाे साइत जुर्न सक्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। तर दिउँसाेदेखि व्यावसायिक कामले खर्च बढाउनेछ। स्रोत–साधन जुटाउन अधिक रकम लाग्न सक्छ। सरसापटमा पनि केही नगद बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा सानाेतिनाे यात्रा हुने सम्भावना देखिन्छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। पारिवारिक मतभेदले काम राेकिएला, सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। उठेकाे रकम खर्च हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। दिउँसोदेखि नयाँ कामकाे अवसर प्राप्त हुन सक्छ। पहिलेकाे स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- स्वास्थ्य कमजोर हुनाले काम गर्न समय लाग्नेछ। बिहान न्यून उपलब्धिमा काम गर्नुपरे पनि चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। दिउँसोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- परिस्थितिवश विवादास्पद काममा अलमलिनुपर्ला। द्वन्द्वले फजुल खर्च निम्त्याउन सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। तापनि, मिहिनेतले लाभ दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला। साेखले खर्च बढाउन सक्छ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। मध्याह्नदेखि प्रतिस्पर्धीहरूबाट अलि सावधान रहनुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्, सजग रहनुहाेला। तापनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। साथीभाइ टाढिनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मान्यजनको सहयोग जुटाउनुहाेला, समस्या टर्न सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धा बढ्नेछ तापनि व्यवसायमा सामान्य लाभ हुनेछ। मध्याह्नपछि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बिना योजना काम थाल्दा दु:ख पाइनेछ। तापनि, शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर पनि प्राप्त हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ) :-सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तसँग सम्पर्क हुनेछ। दिउँसोदेखि धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

तपाईँको दिन शुभ रहोस् ।

२०७८ साल कात्तिक ०३ गते बुधबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

बुधबार दिउँसो :– देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ का केही र प्रदेश २, बागमती, गण्डकी, लुम्विनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार राती :– देशभर सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया