बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

निजि विद्यालयको दादागिरि विरुद्ध आवाज उठाऔँ

सोमवार , आश्विन २५, २०७८

सिन्धुलीका केहि निजि विद्यालयले सामुदायिक विद्यालयका कर्मचारीलाई धम्की दिएको खबर सार्वजनिक भएको छ । आफ्ना विद्यार्थीहरु सामुदायिक विद्यालयमा भर्ना भएपछि शुल्क उठ्न बाँकी रहेको भन्दै धम्की दिएको सामुदायिक विद्यालयका कर्मचारीको गुनासो छ । कोभिडका कारण भौतिक उपस्थितिमा कक्षा संचालन नभएपनि निजि विद्यालयले चर्को शुल्क लिएका थिए । विद्यालय संचालनकालागि शुल्क उठाउनु जायज हो । शिक्षकको तलब लगायत अन्य खर्च बापत अभिभावकसँग शुल्क उठाउनु स्वभाविक भएपनि अनावश्यक शिर्षकमा रकम असुलेको अभिभावकले गुनासो गरेका थिए । शुल्क तिर्न सक्नेले तिरे र शुल्क तिर्न नसक्ने केहिले बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरे । अभिभावकले आफ्ना बालबालिकालाई जुनसुकै विद्यालयमा पनि भर्ना गर्न सक्छन्, त्यो उनीहरुको रोजाई हो । तर, शुल्क उठाउन नसकेपछि सामुदायिक विद्यालयलाई धाकधम्की दिने प्रवृद्धि कानुन विपरित छ । निजि विद्यालयको यो दादागिरिको अन्त्य गर्न शिक्षा विकास तथा समन्वय इकाई, विद्यार्थी संगठन लगायत सरोकारवाला निकायले आवाज उठाउन जरुरी छ ।

निजि विद्यालयले शुल्क उठाउने नाममा विद्यार्थीको भविष्यमाथिनै खेलबाड हुनेगरि कुनै पनि क्रियाकलाप गर्नु शैक्षिक व्यापार हो । त्यसैले, शुल्क उठाउन अन्य उपाय रोज्नतर्फ निजि विद्यालयले सोच्न आवश्यक छ । अरु कुनै विद्यालयमा विद्यार्थी भर्ना भए भनेर सो विद्यालयलाई तनाब दिने तथा विद्यार्थीका अभिभावकलाई अनैतिक दबाब दिने कार्य मानवता विपरित हो । तसर्थ, विद्यालयले पढाएबापत शुल्क उठाउनुपर्छ तर शुल्क उठाउने प्रक्रिया भने सच्चाउन जरुरी छ ।

प्रतिक्रिया