सिन्धुली – विपि राजमार्ग स्थित सिन्धुलीमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । विपि राजमार्ग स्थित सुनकोशी गाँउपालिका वडा नं.–५ मुलकोटको अस्थाई हेल्प एण्ड हेल्थ डेक्समा ईलाका प्रहरी कार्यालय खुर्कोट, जिल्ला प्रहरी सिन्धुलीको संयुक्त आयोजना तथा आत्मीय अस्पताल खाल्टेको सहकार्यमा विपि राजमार्गमा चल्ने सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको हो ।
दशैँ मनाउन घर आउनेको संख्या बढे सँगै राजमार्गमा सवारीको चाप बढेको छ । सवारी चाप बढेकाले दुर्घटना हुने जोखिम हुने साथै कतिपय अवस्थामा चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि दुर्घटना हुने भएकाले बिपि राजमार्गमा संचालन हुने सवारी चालकका स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताउनुभयो ।
शनिबार ३ सय ८३ जना चालकको स्वस्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गरिएको ३ सय ८३ मध्य ४७ जना चालकहरुमा उच्च रक्तचापको समस्या देखिएकोले पुनः चेकअप गराई औषधी सेवन गर्न चिकित्सकले सुझाव दिएको प्रमुख क्षेत्रीले बताउनुभयो । स्वास्थ्य परिक्षण कार्यक्रम यहि असोज २७ गते सम्म चल्ने छ । कार्यक्रममा ७ सय थान ट्राफिक सचेतनामुलक पर्चा समेत वितरण गरीएकोे क्षेत्रीले बताउनुभयो । साथै उहाँले राजमार्गमा सवारीको चाप बढेकाले सचेत रहेर सवारी चलाउन सम्पूर्णलाई आग्रह गर्नुभयो ।