सिन्धुलीमाढीमा रहेको बैंक तथा वित्तिय संस्थाहरुमा अहिले ग्राहकको संख्या बढेको छ । बडादशैँ शुरु भएसँगै बैंकहरुमा नयाँ नोट साट्नेको भिड ठूलो छ । त्यस्तै, सामाजिक सुरक्षा सेवा भत्ता लिनकालागि एकैपटक ग्राहकहरु बैंकमा आइरहेका छन् । बैंकमा ग्राहकको भिड बढेसँगै सेवा प्रवाहमा समस्या देखिएको छ । व्यवस्थापनमा देखिएको कमजोरीका कारण बैंकमा दुःख पाएको ग्राहकले गुनासो गरेका छन् ।
शुक्रबार जिल्लाको कमलामाई नगरपालिकामा रहेको अधिकांश बैंकको एटिएममा समस्या देखिएको थियो । सर्भर डाउन भएको भन्दै बैंकका कर्मचारीले ग्राहकलाई फर्काएका थिए । वृद्ध भत्ता लिन आएका वृद्धवृद्धाहरु समेत घण्टौँ सम्म लाईन बसेर खाली हात फर्कनुपरेको थियो । दशैँको समयमा भिडभाड नहुने कुरै हुदैँन ।
विगतका वर्षहरुमा पनि भिड भएकै हो र विगतमा पनि जिल्लामा यो समयमा बैंकिङ सेवामा समस्या देखिएकै हो । तर, निजि तथा सरकारी बैंकले विगतका कमिकमजोरीलाई सच्चाएर अघि बढ्न नसक्दा ग्राहकले सास्ती व्यहोर्नुपरेको छ । तसर्थ, आगामी दिनमा सर्भर डाउन, भिड व्यवस्थापन लगायत विविध समस्याको समाधान गर्नतर्फ बैंकिङ क्षेत्रले जोड दिन आवश्यक छ । अतः ग्राहकको असन्तुष्टि सम्बोधन गर्नतर्फ जिल्लाका बैंक तथा वित्तिय संस्थाले गम्भिर भएर सोच्न आवश्यक छ ।