शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

विपि राजमार्गमा सवारीको चाप

शुक्रवार , आश्विन २२, २०७८

सिन्धुली– दशैँ मनाउनका लागि घर आउनेको संख्या बढेसंगै विपि राजमार्गमा सवारीको पनि चाप बढेको छ । दशैँ मनाउन काठमाडौँबाट सिन्धुली लगाएत तराइका विभिन्न जिल्लामा आउनेको संख्या बढेसँगै विपि राजमार्गमा सवारीको चाप बढेको हो ।

सवारीको चाप बढेसंगै राजमार्गमा जाम हुन थालेको छ । विपि राजमार्गमा मोटसाइकलको बढी चाप बढेको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार विहिबार मात्र १३ सय भन्दा बढी मोटरसाइकल काठमाडौबाट विपि राजमार्ग हुदै सिन्धुली लगाएत तराइका विभिन्न जिल्ला गएका छन् ।

सुनकोशी गाउँपालिका १ दुम्जा स्थित प्रहरी चेक पोष्टको तथ्यांक अनुसार विपि राजमार्गमा सवारी साधनको संख्या बढेको छ । विहिबार मात्र काठमाडौँबाट विपि राजमार्ग हुदै तराइको जिल्लामा ३ सय १५ जिप, कार, भ्यान प्रवेश गरेका छन् । यस्तै १ सय ७५ टाटासुमो, ३ सय १७ हाइएस, २ सय ६० वटा वस विपि राजमार्ग हुदै सिन्धुली लगाएत तराइको जिल्ला प्रवेश गरेको ट्राफिक प्रमुख क्षेत्रीले बताउनुभयो । विहिबार विपि राजमार्ग हुदै काठमाडौ १ सय ३१ वटा विंगर,हाइएस गएका छन् । ८९ वटा टाटा सुमो र ६८ वटा बस तराइका जिल्लाबाट विपि राजमार्ग हुदै काठमाडौ प्रवेश गरेका हुन् ।

“विहिबार देखि विपि राजमार्गमा धेरै चाप बढेको प्रमुख क्षेत्रीले बताउनुभयो । हिजो अस्तिको तुलनामा बिहिवार देखि राजमार्गमा एकदमै गाडिको चाप बढेको छ । पहिले दिनमा ७ वटा सम्म बस, १० वटा सम्म हाइएस हुन्थे । तर बिहिवार म आफैले गाडिको संख्या रेकर्ड राखेको थिए । ट्राफिक विटमा २५ वटा भन्दा बढी बस लाइनमा थियो भने टाटासुमो र हाइएस ३५ वटा भन्दा बढी लाइनमा थियो, ” प्रमुख क्षेत्रीले भन्नुभयो ।

दशै मान्न काठमाडौबाट घर आएका दुधौली नगरपालिका १ का हरि कार्की राजमार्गमा काठमाडौ जतिकै जाम भएको बताउछन् । “राजमार्गमा काठमाडौको जस्तै जाम थियो । पहिले लगभग ६ घण्टामा दुधौली नै आइपुगिन्थोँ । अहिले जामले गर्दा ८ घण्टा भन्दा बढी लाग्यो घर आइपुग्न ।” कार्कीले भन्नुभयो । दशै मान्न आएका कमलामाई नगरपालिका ४ का श्याम ढकाल पनि विपि राजमार्गमा जाममा परेको सुनाउछन् । काठमाडौ तथा अन्य विभिन्न शहरलाई कर्म थलो बनाएर बसेकाहरु दशै मान्न गाउँघर आउने क्रम बढेसंगै विपि राजमार्गमा मात्र हैन सिन्धुलीमाढीमा पनि सवारी साधनहरुको चाप बढेको छ । सिन्धुलीमाढीमा दशैँका लागि विभिन्न सामान किन्नेको भिड देखिएको छ ।

सवारीको चाप बढेकाले दुर्घटना हुने जोखिम हुने भन्दै सावधानि अपनाइ सवारी चलाउन ट्राफिक प्रमुख क्षेत्रीले आग्रह गर्नु भएको छ । दुर्घटना हुने जोखिम भएकाले जिल्लाका सम्पुर्ण चेक पोष्टमा सवारी चालकलाई सम्झाउने गरेको उहाँले बताउनुभयो । “सवारीको चाप बढेको छ । हाम्रो चेक पोष्टमा खटिएका प्रहरीले सवारी चालकलाई बाटो अफट्यारो छ । विस्तारि चलाउन भनिरहेका छौँ । साथै हामीले दुर्घटना हुन नदिन चेकजाचँलाई पनि कडाइ गरेका छौँ ।” प्रमुख क्षेत्रीले विपि राजमार्ग दुर्घटना हुने धेरै नै जोखिम रहेकाले सचेत भएर सवारी चलाउन आग्रह समेत गर्नु भयो ।

प्रतिक्रिया