नेपालीहरुको महान चाड दशैँ शुरु भएसँगै विपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ । काठमाडौँबाट विपी राजमार्ग हुदैँ सिन्धुली लगायत तराईका जिल्ला फर्किने यात्रुको संख्या ठूलो छ । विगतका वर्षहरुमा दशैँको समयमा विपी राजमार्गमा दुर्घट्ना थुप्रै भएका थिए । सवारीको चाप, तिव्र गति, ओभरटेक लगायत अन्य मानविय त्रुटिका कारण दुर्घट्ना भएको तथ्यांकले देखाउँछ । त्यसैगरि, यात्रुहरुको संख्या धेरै भएकाले एउटै गाडी धेरैपटक आहोरदोहर गर्दा सवारीचालकलाई कामको चापले थकाईका कारण पनि दुर्घट्ना भएको अघिल्लो वर्षको तथ्यांकले देखाउँछ ।
चाडबाँडको समयमा विपी राजमार्ग हुदैँ गृहजिल्ला फर्किनेको संख्या पनि ठूलो भएकाले दुर्घट्नाको संभावना बढि हुने गरेको छ । तसर्थ, विपी राजमार्गमा दुर्घट्ना न्युनिकरणकालागि ट्राफिक प्रहरीको भुमिका अहम हुन्छ । टाईम कार्डका कारण सवारीसाधनको तिव्र गति कम गर्न केहि मद्धत पुगेको छ । तर, मोटरसाइकल लगायत निजी सवारीसाधनमा टाईम कार्ड लागु नहुँदा दुर्घट्नाको जोखिम बढेको छ । त्यसैले, राजमार्गमा निजी सवारीसाधन तथा मोटरसाइकल चालकलाई ट्राफिक नियम पालना गराउन प्रहरीले विशेष कार्यक्रम ल्याउन जरुरी छ । सवारीचालक स्वयं सचेत नहुने हो भने जस्तोसुकै कार्यक्रम संचालनमा आएपनि प्रभावकारी हुदैँन । तसर्थ, स्वयं चालक होसियार हुन आवश्यक छ ।
विपी राजमार्गमात्र नभएर जिल्लाका अन्य सडकखण्डमा पनि दुर्घट्नाको जोखिम उत्तिकै छ । प्रहरीले व्यापक जनशक्ति परिचालन गरेर जिल्लाको मुख्य समस्या सडक दुर्घट्ना न्युनिकरण गर्नतर्फ विशेष जोड दिन जरुरी छ । अतः सडक दुर्घट्ना रोकथामकलागि चेकजाँचमा कडाई गर्दै प्रभावकारी ढंगमा ट्राफिक नियम पालना गराउनतर्फ ट्राफिक प्रहरीले सक्रियता देखाउन आवश्यक छ ।