सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुख खड्गबहादुर खत्रीले सिन्धुली सौगात पत्रिकामा प्रकाशित समाचारलाई लिएर पत्रकारसँग गरेको दुव्र्यवहारले नागरिकप्रति जनप्रतिनिधिको शैलि र आलोचना सुन्न सक्ने असामथ्र्यलाई स्पष्ट देखाएको छ । नगरप्रमुख खत्रीले आलोचना सुन्नै नसक्ने जिल्लाका पत्रकारहरुले गुनासो गर्दै आएका छन् । यसअघि पनि खत्रीले सार्वजनिक कार्यक्रमबाटै आफ्नो विरुद्धमा समाचार लेख्ने पत्रकारको विवरण आफूले राखेको भन्दै आक्रोश पोखेका थिए ।
आलोचना सहनै नसक्ने जनप्रतिनिधिले उसको सिद्धान्त नपछ्याउने नागरिकलाई कस्तो व्यवहार गर्लान्, त्यो सहजै अनुमान लगाउन सकिन्छ । काम गर्दै जाँदा गल्ति हुन्छन् । केहि गल्ति नियतवस हुन्छन् त केहि अनभिज्ञताले पनि हुन्छ । तर, गल्ति औँल्याइदिदा पुर्वाग्राही भएर गल्ति औँल्याइदिनेसँगै जाई लाग्नु किमार्थ स्वभाविक होइन । अझ जनप्रतिनिधि जस्तो गरिमामय पदमा बसिसकेपछि आलोचना सहन सक्ने क्षमता राख्नुपर्छ । किनभने, आलोचना विष होइन, ऊर्जा हो, मार्गदर्शन हो र त्यो मार्गदर्शन सकारात्मक गन्तव्यमा पुर्याउने साधन हो ।
जिल्लाका केहि जनप्रतिनिधिमा देखिएको दंभ र अहंकारले नागरिक आजित भएका छन् । गुनासो लिएर स्थानिय सरकारसम्म पुग्दा उल्टै गुनासो गर्नेको मनोबल घटाउने कार्यमा जनप्रतिनिधि लागेको थुप्रै घट्नाहरु छन् । प्रशंसाका भोका जनप्रतिनिधिले आलोचना कदापि स्विकार्दैनन् । जनप्रतिनिधिले आफ्ना कमिकमजोरीलाई आत्मशात गरेर कसरी सच्चिएर अघि बढ्ने भन्ने चेत नहुँदा नागरिकले दुःख पाउने गरेका छन् । नेपाल सरकारको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको गलत रवैयाले आगामी दिनमा दुर्घट्ना निम्तन सक्छ । तसर्थ, जनप्रतिनिधिले रिस, दंभ, अंहकार र एकोहोरो पनलाई त्यागेर नागरिकलाई सहज सेवासुविधा दिलाउनतर्फ केन्द्रित हुन जरुरी छ ।
त्यसैगरि, जुन राजनीतिज्ञ जनस्तरबाट गरिने आलोचनालाई सहन सक्छ, उसले आफ्नो स्थान सधैँभरि सुरक्षित राख्छ भन्ने कुरा नगरप्रमुख खत्री लगायत अन्य जनप्रतिनिधिले चेत राख्नुपर्छ । अतः जनप्रतिनिधिले मात्र हैन समाजका हरेक व्यक्तिले जसले आलोचना सहन सक्छ ऊ सफल हुन्छ, सधैँभरि प्रशंसा सुन्न चाहने वा आलोचना सुन्न नचाहनेहरु सदैव असफल हुन्छन्, असफल भइरहन्छन् भन्ने बुझ्न जरुरी छ ।