सिन्धुलीका सरकारी तथा गैरसरकारी संघ संस्थाले प्रविधिलाई प्राथमिकता दिएपनि सोचे अनुरुपको काम भने हुन सकिरहेको छैन । अहिलेको युग इन्टरनेटको युग हो । तर, जिल्लाका सरकारी निकाय तथा निजि संघसंस्थामा इन्टरनेटलाई प्रभावकारी ढंगमा प्रयोग गरिएको छैन । कुनै एक संस्थाले कर्मचारीको आवश्यकता भन्दै सूचना निकाले पश्चात उम्मेदवारले इन्टरनेटको माध्यमबाट कागजपत्र पेश गरेपनि उक्त कागजातले सार्थकता नपाएको गुनासो छ । त्यस्तै, इन्टरनेटबाटै स्थानिय सरकारको सेवासुविधा दिन मिल्ने कार्यमा पनि किचलो छ । स्थानिय सरकारको सूचना तथा जानकारी धेरैजसो स्थानिय तहले अपडेट गरेका छैनन् । इन्टरनेटकै माध्यमबाट लिन सकिने जानकारीको लागि पनि कार्यालय धाउनुपर्ने बाध्यता छ । यसको मतलब जिल्लाका सरकारी तथा अन्य संघसंस्थाले प्रविधिलाई स्विकारेपनि व्यवहारमा भने प्रयोगमा ल्याउन सकिरहेका छैनन् ।
जिल्लामा इन्टरनेटको प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । घर बसिबसि इन्टरनेटकै माध्यमबाट सहजै कार्य सम्पादन गर्न सकिन्छ । तर, जिल्लावासीले इन्टरनेटको लाभ लिन सकिरहेका छैनन् । इन्टरनेटबाटै दिन सकिने सेवासुविधालाई स्थानिय सरकारले पनि नजरअन्दाज गरिरहेको छ । स्थानिय सरकारको हरेक गतिविधिलाई वेभसाइटको माध्यमबाट पनि जानकारी दिन सकिन्छ । तर, वेभसाइटनै अपडेट नहुँदा प्रविधि प्रयोगविहिन बनेको छ । तसर्थ, इन्टरनेटबाट सहजै हुन सक्ने कामलाई प्रयोगमा ल्याउन सम्बन्धित सबै निकायले प्राथमिकता दिन जरुरी छ ।