सिन्धुलीको कमलामाई नगरपालिकामा कोरोना विरुद्धको खोप लगाउन बुधबारबाट शुरु गरिएको छ । आगामी आइतबारसम्म ३५ वर्ष नाघेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइदैँछ । लक्षित वर्गलाई भन्दा अन्य समूहलाई समेत कोरोना विरुद्धको खोप लगाइएको तथ्य फेला परेको छ । ढिलो–चाँडो सबै उमेर समूहले कोरोना विरुद्धको खोप लगाउन पाउनेछन् । तर, आफू निकटका व्यक्तिलाई खोप लगाउन पहल गरेर जोखिममा रहेका उमेर समूहले खोप लगाउन नपाउनु लापर्वाहीको हद हो । त्यसैले, नगरपालिकाभित्र खोप संचालन हुने स्थानमा अनुगमन गर्न आवश्यक छ । त्यसैगरि, तोकिएको लक्षित उमेर समूह र वर्गलाई खोप लगाउने मिति, समय र स्थानसहित व्यापक प्रचारप्रसार गर्न जिम्मेवार निकायले सक्रियता बढाउन जरुरी छ । कोरोना विरुद्धको खोपको अभियान संचालन भएपनि धेरै नागरिक त्यसका बारेमा जानकार छैनन् । तसर्थ, खोप अभियानलाई सफल बनाउनकालागि जिम्मेवार निकाय थप गम्भिर हुन जरुरी छ ।
विगतमा खोप अभियानमा देखिएको लापर्वाहीले जिल्लामा ठूलै तहल्का पिटेको थियो । अहिले पनि जिम्मेवार व्यक्तिले नै आफू निकटका व्यक्तिलाई खोप लगाउन पहल गर्दा लक्षित समूह प्रभावित हुने देखिन्छ । तसर्थ, कोरोना विरुद्धको खोप अभियानलाई सफल बनाउनकालागि सम्बन्धित निकायले अनुगमन गर्न जरुरी छ । त्यस्तै, खोप नलागएका अन्य उमेर समूह र वर्गलाई ढिलै भएपनि खोप लगाइने भनेर विश्वास दिलाउन सम्बन्धित निकायले अग्रसरता देखाउन आवश्यक छ ।