सिन्धुली लगायत देशभर अहिले राजनैतिक दलको सक्रियता बढेको छ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा केन्द्रित छ भने अन्य दलहरु पार्टी विस्तार र सुदृढिकरणकालागि गाउँगाउँमा कार्यक्रमहरु संचालन गर्दै आएका छन् । यता, सिन्धुलीका जनप्रतिनिधि भने ‘काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर’ भने जस्तै पार्टीको काममा बढि दौडधुप गरिरहेको अवस्था छ ।
आफ्नो कार्यकाल सकिन केहि महिनामात्र बाँकी रहदा जनतासँग गरेको वाचा पुरा गर्न छोडेर राजनैतिक दलको कार्यक्रमलाई मात्र प्राथमिकता दिनु नागरिकको मतको अपमान हो । त्यसैले, जिल्लाका जनप्रतिनिधिहरुले पार्टीलाई समय दिएपनि धेरै भन्दा धेरै समय आफूले गरेका वाचा पुरा गर्नतर्फ केन्द्रित हुन जरुरी छ । पछिल्लो समय जिल्लाका नौँवटै स्थानिय तहमा राजनैतिक चहलपहल बढेको छ । पार्टी विस्तारमा हरेक राजनैतिक दलले समय खर्चिरहेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु कांग्रेसको महाधिवेशनकालागि आफ्नो कामनै छोडेर लागिपरेका छन् । त्यसैगरि, नेकपा एमाले, माओवादि केन्द्र लगायत अन्य दलबाट निर्वाचित जनप्रतिनिधिको अवस्था पनि त्यस्तै छ ।
स्थानिय सरकार आएसँगै नागरिकले धेरै अपेक्षा राखेका थिए । नागरिकले सेवासुविधा पाएपनि पर्याप्त सन्तुष्टि भने पाएका छैनन् । जनप्रतिनिधिकालागि अब धेरै समय बाँकी छैन । त्यसैले, नागरिकको समस्याको समाधान, सेवासुविधामा व्यापक वृद्धि लगायत उनीहरुको अपेक्षा अनुरुप काम गर्नतर्फ जनप्रतिनिधि केन्द्रित हुनुपर्दछ । अतः सन्तुलन मिलाएर अघि बढ्न जनप्रतिनिधिले प्राथमिकता दिनुपर्दछ ।