नेपालीहरुको महान् चाड दशैँ नजिकिएसँगै सुरक्षाका चुनौतिहरु थपिएका छन् । सिन्धुलीमा विगतका वर्षहरुमा दशैँको आसपास चोरीका घट्नमा वृद्धि भएको तथ्यांकले देखाउँछ । विशेषगरि यस समयमा, बजार क्षेत्रमा समेत चोरी हुने गरेको छ । रातको समयमा कोहि नभएको मौका छोपि चोरी हुने गर्दछ । प्रहरीको गस्ति र सिसि क्यामेराबाट नियमित निगरानि भइरहदा पनि चोरी हुने गरेको विगतका घट्नाहरुले देखाउँछ । त्यसैले, नागरिक स्वयंले आफ्नो सम्पत्तिको सुरक्षा नगर्ने हो भने चोरी नियन्त्रणमा कठिनाई हुनेछ ।
सडकमा रहेको बत्तिका कारण पनि चोरले वैकल्पिक बाटो रोजेर चोरी गर्ने गरेका छन् । आफ्नो घर आसपासका क्षेत्रमा सडकमा रहेका बत्तिहरु प्रयोगमा आएका छन् कि छैनन् भनेर निगरानि गर्दै सम्बन्धित निकायमा गुनासो गर्न नागरिकले झन्झट् मान्नुहुदैँन । चोरी नियन्त्रण गर्नकालागि हरेक व्यक्ति सचेत हुन जरुरी छ । विगत केहि वर्षअघि सामाजिक संजालमा समेत आफू कता छु भनेर सार्वजनिक नगर्न प्रहरीले आग्रह गरेको थियो । यस्तो हुँदा चोरले घरमा कोहि नभएको मौका छोपी चोरी गर्नसक्ने संभावना रहेको प्रहरीको निष्कर्ष थियो । तसर्थ, स–साना कुरालाई पनि मध्यनजर गर्दै आफ्नो सम्पत्तिको सुरक्षागर्न स्वयं नागरिक सचेत हुन आवश्यक छ ।
चोरी नियन्त्रणकालागि प्रहरीले पनि गस्ति परिचालनमा वृद्धि गर्न जरुरी छ । मुख्य बजार क्षेत्रमा मात्र नभएर भित्रि वस्तिहरुमा समेत निगरानि बढाउन आवश्यक छ । त्यसैगरि, चोरी नियन्त्रणकालागि स्थानिय सरकारले चेतनामुलक कार्यक्रम संचालन गर्दै जनचेतना फैलाउन जोड दिन जरुरी छ । अतः सिन्धुलीमा चोरी नियन्त्रण गर्नकालागि स्वयं नागरिक र सुरक्षा दिने निकायहरु गम्भिर हुन आवश्यक छ ।