सिन्धुलीको स्थानिय तहमा कार्यरत करारका कर्मचारीहरुले अनावश्यक राजनिति गरेको भन्दै सेवा प्रवाहमा पक्षपात भएको गुनासो आएको छ । स्थानिय तहका प्रमुखले आफू अनुकुलको कर्मचारी भर्ना गर्दा विगत चार वर्षदेखि व्यापक असन्तुष्टिहरु सतहमा आइरहेको छ । पार्टीको झण्डा बोकेर स्थानिय सरकारको काम गर्दा सन्तोषजनक उपलब्धि हासिल नभएको उपभोक्ताहरुले गुनासो गरेका छन् । त्यसैगरि, असन्तुष्ट पक्षसँग करारमा नियुक्त भएका कर्मचारीले गर्ने व्यवहारले पनि उनीहरुको छविनै धमिलिएको अवस्था छ । केहि करारका कर्मचारीले आफूलाई नै सर्वश्व ठान्ने र जे गर्दा पनि हुन्छ भन्ने मानसिकता बोकेर काम गर्दा उपभोक्ताहरु आक्रोशित बनेका छन् । स्थानिय तहको प्रवक्ताको काम पनि आफैँ गर्ने र अनाधिकृत रुपमा विवाद सिर्जना गर्न केहि करारका कर्मचारी लागिपरेको अवस्था छ ।
जिल्लाको समग्र विकासकालागि स्थानिय तहमा दक्ष तथा अनुभवि कर्मचारीको आवश्यकता छ । तर, दक्षता हुदाहुदैँ पनि अनावश्यक पार्टीको राजनितिलाई प्राथमिकतामा राखेर उपभोक्ताको समस्यालाई पर सार्दा करार कर्मचारीप्रति उपभोक्ताको चरम असन्तुष्टि छ । केहि करारका कर्मचारहिरुले आफू निकटका उपभोक्ताको काम क्षणभरमै गर्ने र अन्य राजनैतिक दल लगायत आफूसँग असन्तुष्ट हुने व्यक्तिको काममा ढिलासुस्ति गर्दिदा सबै करार कर्मचारीप्रति जिल्लावासीको नकारात्मक भाव बढिरहेको छ । तसर्थ, करार कर्मचारीलाई अनुशासनमा राख्न स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत जिम्मेवार व्यक्तिले गम्भिर भएर सोच्न जरुरी छ ।
आमनागरिक जुन कुनै पार्टीमा आबद्ध हुन सक्छ । तर, नागरिकको सेवासुविधाका विषयमा राजनिति घुसाएर सेवा प्रवाहमा बाधा अड्चन गर्ने अधिकार कसैको छैन । तसर्थ, करार कर्मचारीहरुको बढ्दो राजनितिक मोह, दंभ र अंहकारलाई नियन्त्रण गर्न जिम्मेवार पक्षले जोड गर्नुपर्छ । अतः कर्मचारीहरुले आफ्नो राज गर्ने नितिलाई सफा र स्वच्छ बनाउन स्वयं आफू सचेत हुन आवश्यक छ ।