सिन्धुलीमा पछिल्लो समय राजनैतिक दलले पार्टी विस्तार, कमिटी गठन लगायत समूहगत रुपमा विभिन्न क्रियाकलापलाई बढाएको छ । सयौँको उपस्थितिमा कहिले सरकारको विरोध त कहिले नवगठित दलको समर्थनमा र्याली निकालिएको छ । राजनैति दलले यस्ता गतिविधिलाई बढाउनु स्वभाविक हो ।
तर, दलका नेता तथा कार्यकर्ताले कोरोनाको समयमा न्युनतम सावधानी पनि नअपनाई भिडभाडमा समावेश हुँदा कोरोनाको जोखिम बढेको छ । बाटो अगुवाले नै बाटो बिराउँदा समाजमा नकारात्मक संदेश प्रवाह भईरहेको छ । त्यसैले, राजनैतिक दलले जुनकुनै उद्धेश्यले कार्यक्रम संचालन गरेता पनि स्वयं आफूहरुले पनि सावधानि अपनाई कोरोना सम्बन्धी चेतनामुलक संदेश प्रवाह गर्न जोड दिन आवश्यक छ ।
सिन्धुलीमा कोरोना संक्रमितको संख्या विगतका महिना भन्दा तुलनात्मक रुपमा घटेपनि जोखिम घटेको छैन । त्यसैले, राजनैतिक दलले कुनै पनि कार्यक्रम संचालन गर्दा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सावधानि अपनाउनतर्फ प्राथमिकता दिनुपर्छ ।
जिल्लाका नौँ वटै स्थानिय तहमा अधिकांश राजनैतिक दलले सक्रियता बढाएको छ । समूह बनाएर कार्यक्रमहरु संचालन भइरहेको छ । तर, न्युनतम स्वास्थ्य सावधानिनै नअपनाएको भन्दै स्थानियले दुखेसो व्यक्त गरेका छन् । भौतिक दुरीनै कायम नगरि मास्क बिना कार्यक्रम संचालन हुँदा समाजमा संक्रमण फैलिने डर बढेको छ ।
तसर्थ, राजनैतिक दलले जुनसुकै पार्टीगत कार्य गरेपनि कोरोनाको जोखिमलाई नजरअन्दाज नगरि स्वास्थ्य सावधानि अपनाई चेतना फैलाउन तर्फ पनि जोड दिन जरुरी छ । अतः राजनैतिक दलले स्वास्थ्य सावधानि नअपनाए सम्बन्धित निकायले कार्वाही गर्न पनि खुट्टा कमाउनुहुदैँन ।