सिन्धुलीमा पछिल्लो केहि महिना यता चोरीका घट्नामा वृद्धि भएको छ । मोटरसाइकल चोरी देखि विद्यालय, घर लगायत सार्वजनिक स्थलका सामाग्री चोरी भईरहेको गुनासो आइरहेको छ । कोरोनाका कारण काम ठप्प हुनु, दशैँ आउन केहि महिना बाँकी रहनु, गरिबि, गलत नियत लगायत विभिन्न कारणले गर्दा चोरीको घट्नामा वृद्धि भइरहेको छ । कमलामाई नगरपालिकामा मात्र नभएर अन्य स्थानिय तहमा समेत चोरको बिगबिगि बढेको छ ।
सदरमुकाम भएकाले यहाँको चोरीका घट्ना बाहिर आउँछन् तर भित्रि पालिकाहरुमा भएका चोरीहरु खासै सार्वजनिक हुदैँनन् । सदरमुकाममै पनि सिसि क्यामेरा जडान गरिएतापनि चोरको पत्ता लाग्न कठिनाई हुने गरेको प्रहरीले बताउने गरेको छ । कमलामाई नगरमा जडान गरिएका अधिकांश सिसि क्यामेराको बिग्रीएका छन् । स्थानिय तह लगायत सम्बन्धित निकायले क्यामेराको मर्मतमा चासो नदिदा राज्यको लगानी बालुवामा पानी हाले सरह भएको छ । तसर्थ, सिसि क्यामेराको अवस्था बुझेर त्यसको मर्मतमा सम्बन्धित निकायले चासो देखाउन जरुरी छ ।
कमलामाई नगरका भित्रि गाउँहरुमा प्रहरीको सक्रियता कम भएका कारण पनि चोरी बढेको गुनासो आएको छ । प्रहरीको गस्ति निकै कम भएका कारण चोरहरु खुलेआम हिँडिरहेको स्थानियले आरोप लगाएका छन् । तसर्थ, यी सबै पक्षहरुलाई मनन गर्दै आ–आफ्नो ठाउँबाट चोरी नियन्त्रणका लागि आवश्यक कदम चाल्नतर्फ जोड दिनुपर्छ ।