गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेश्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुलाई निर्देशन दिएको छ । तेश्रो लहर आउन सक्ने संभावना देखिएपछि सिन्धुलीमा पनि के कस्ता तयारी भइरहेको छ भन्ने जनचासो बढेको छ । गत असार महिनामा सिन्धुलीमा चार सय बढि संक्रमित थपिएका थिए । हालसम्म साउन महिनामा झण्डै चार सय संक्रमित पुगिसकेका छन् । गत महिना भन्दा यो महिना कोरोना परिक्षणको दायरा बढेको छ । तुलनात्मक रुपमा परीक्षणको दायरा बढेपनि यहि गतिमा परिक्षण हुने हो भने सबै जिल्लावासीको परीक्षण गर्न अझै झण्डै दुई वर्ष लाग्नेछ । यसको मतलब, कोरोना परिक्षणको दायरा बढाउन जिल्लाका जिम्मेवार निकायले पहलदारी कदम चाल्न आवश्यक छ । त्यस्तै, कोरोना विरुद्धको खोप लगाउने संख्या बढाउन पनि सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।
कोरोना रोकथाम र नियन्त्रणकालागि सर्वप्रथम परिक्षण्को दायरा बढाउनुका साथै कोरोना विरुद्धको खोप लगाउनकालागि केन्द्रसँग पहलदारी कदम चाल्न आवश्यक छ । त्यसैगरि, कोरोना संक्रमितलाई सुरक्षित राख्नकालागि जिल्लाका स्थानिय सरकार लगायत सम्बन्धित निकायले आईशोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाउन ढिलाई गर्नुहुदैँन । अहिले जिल्लाका अधिकांश संक्रमित होम आईशोलेसनमै बसेको अवस्था छ । उनीहरुमा पर्याप्त ज्ञान नहुँदा संक्रमण सर्ने संभावना प्रबल छ । संस्थागत आईशोलसनमा राख्न आवश्यक पुर्वाधार अभाव भएको खण्डमा स्थानिय सरकार लगायत सम्बन्धित निकायले होम आईशोलेसनमा रहेका संक्रमितको अवस्थाका बारेमा बुझ्न जरुरी छ । स्वास्थ्य अवस्थामात्रै नभएर उनीहरुबाट अरुमा सर्न सक्ने संभावनालाई पनि प्राथमिकतामा राखेर जिम्मेवार निकायले आवश्यक सामाग्रीको जोहो गर्न सहयोग गर्नुपर्ने देखिन्छ । अन्यथा, कोरोना संक्रमितबाट अन्य व्यक्तिमा सर्ने संभावना बढेर जान्छ ।
त्यसैगरि, जिल्लामा बढेको चहलपहलले पनि कोरोनालाई निम्ताईरहेको छ । नेपाल भारत सिमासँगको नजिक दुरीले गर्दा पनि कोरोनाको जोखिम बढेको छ । बजारमा न्युनतम स्वास्थ्य सावधानि समेत नअपनाई हिँड्नेको संख्या पनि उच्च छ । त्यसैले, मास्क, स्यानिटाईजर, भौतिक दुरी लगायत स्वास्थ्य मापदण्ड अपनाउनकालागि जिम्मेवार निकायले व्यापक कार्यक्रम संचालन गर्न जरुरी छ । कोरोना संक्रमितको उपचारकालागि आवश्यक सम्पूर्ण तयारी गर्न जिल्ला प्रशासन, स्थानिय सरकार, जनस्वास्थ्य कार्यालय लगायत सम्बन्धित सबै पक्ष गम्भिर भएर अघि बढ्नुपर्दछ । अतः तेश्रो लहरको कोरोनाको सामना गर्र्ने सामथ्र्येलाई बलियो बनाउनकालागि जिल्लामा सम्पूर्ण व्यवस्थापन पक्ष चुस्तदुरुस्त राख्न आवश्यक छ ।